राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका हुन्।
‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई,’ उनले लेखेका छन्, ‘अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको सफलताको शुभकामना। तपाईंको कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु।’
सन् २०२४को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्।
पूर्व राष्ट्रपति समेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन्।अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसकेका छन्।यता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन्। उनी अहिलेकी उपराष्ट्रपति समेत हुन्।
पपुलर मतमा पनि यसपालि ट्रम्प नै अगाडि छन्। ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गरेका छन्। ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरेका छन्।

















