युएईसँग नेपाल १३ रनले पराजित

 

२४ कात्तिक, काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।

दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन् ।

१९औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन् ।

सोनी पाख्रिनले २३ बलमा १९ र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए । ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन् ।

युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक÷एक विकेट लिए ।