बाढीले क्षतिग्रस्त पुल मर्मतपछि पुनः सञ्चालन

गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको शहीद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिए ।

सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट विनियोजन भएको एक लाख रुपैयाँको लागतमा पुल मर्मत भएको उनको भनाइ छ ।

पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।