मातृसत्ता केवल शब्दमा सिमित नगरियोस्

समाजमा मातृसत्ताका विषयमा छलफल बहस र सम्वाद हुँदै आईरहेको छ । पितृसत्ता र मातृसत्ताका विषयमा छलफल मात्र होइन बेलाबेलामा यी दुई विषयलाई लिएर महिला र पुरुष बिच चर्का विवाद पनि नभएका होइनन् तर यस विषयलाई केलाउँदै गर्दा एक पटक इतिहास तिर नर्फकी रहन सकिन्न ।

हामी सबैलाई थाहा भएकै कुरो इतिहासको कालखण्डलाई हेर्दा विश्वका केही देशहरुमा मातृसत्ताले शासन सत्ता चलाएको थुपै अवशेषहरु भेटाउन सकिन्छ । आधुनिक मानवको सुरुवातदेखि लामो समयसम्म मातृसत्तात्मक समाज प्रचलनमा थियो ।

पितृसत्ता र मातृसत्ताको विषयमा कुरा गर्नु अघि साँच्चै नै सिङगो मानव विकास क्रमलाई सम्झिनै पर्दछ । ताकि मानव जातीको विकास कहाँबाट भएको थियो भन्ने मूल जरो पत्ता लगाउनु जरुरी हुन्छ । मानव जातीको विकास जंगली अवस्थाबाट सुरुवात भएको हामी सबैलाई थाहा छ । मानव जातीको विकास जंगली अवस्था हुँदै मानव समाज दास युग, सामन्तवादी युग हुँदै पुँजीवादी युगमा अगाडि बढेको हामी सबैलाई जगजाहेर छ । यति बेला वर्तमान समाजलाई हेर्ने हो भने पनि सामन्तवादी अवशेष सहित पुँजीवादी र समाजवादी चरित्र बिचमा संघर्ष जारी छ । एकातिर मातृसत्ता र पुरुषसत्ता बिचको संघर्ष छ । भने अर्को तिर पुँजीवादी र समाजवादीको खुल्ला चरित्र बिच मानवजातीको संघर्ष कायम नै छ । मानवजाती यस संसारमा रहदासम्म यस्ता खालका चरित्र समाजमा भईनै रहनेछ ।

मातृसत्ता महिलालाई प्रमुख मानिएको शासन सत्ता भन्दा फरक नपर्ला । महिलाले नेतृत्व गरेको शासन सत्ता भन्दा पनि हुन्छ । मातृसत्ताका केही अवशेष आजको संसारमा पनि पाईन्छ। विश्वका केही देशहरुलाई हेर्दा हाम्रै छिमेकी राष्ट्र भारतको मेघालय परिवारमा महिलाको बलियो भूमिका देख्न सकिन्छ भने अन्य देशहरु थाइल्याण्ड र भुटान पनि मातृसत्ताको बलियो भूमिका देखिएको छ । त्यति मात्र होइन हाम्रै देशमा हेर्ने हो भने पनि आदिबासी जनजाति परिवारमा महिलाको अवस्था खस–आर्य समुदायका महिला भन्दा शक्तिशाली देखिएको विभिन्न एतिहासिक अनुसन्धानमार्फत प्रष्ट देखिन्छ ।

आदिबासी जनजाति भित्र पर्ने मगर समुदायलाई पनि मातृसत्ताका रुपमा हेर्ने गरेको थुप्रै अवशेषहरु भेटिन्छन् । विगतका दिनहरुमा मगर समुदाय भित्र सिङ्गो समुदाय र घरलाई नेतृत्व गर्ने मगर महिला नै थिए भनेर अहिले पनि समाजमा मगर महिलाको गुनगान गाउने गरेको थुप्रै वहस, भाषण, सम्वादहरु सुनिन पाईन्छ । मगर समुदायका पुरुषहरु कामको सिलसिलामा प्रदेश जाने हुँदा घरको रहनसहनदेखि पारिवारीक र आर्थिक पक्ष लगायतका सबै गतिविधि र क्रियाकलापमा मगर महिलाले नै नेतृत्व गरेको इतिहास रहेको केही मगर विद्वानहरुको भनाई रहेको छ । तर समय क्रम सँगै मगर समुदाय भित्र मातृसत्ताको उपनाम दिए पनि बोलीमा एउटा र व्यवहारमा अर्कै देखिएको मगर महिला नेतृहरुको गुनासो पनि सुनिन आउँछ ।

हुन त मगर समुदाय भित्र मात्र होइन देशै पितृसत्तात्मक सोंचले अघि बढीरहेको छ । जुन सोंचका कारण समाजमा महिला दोस्रो दर्जाको रुपमा देखिन्छ । हिजोको दिनमा मगर समुदाय तथा आदिबासी जनजाति समुदाय भित्र मातृसत्ताले शासन सत्ता सञ्चालन गरेको भएतापनि विस्तारै पितृसत्ता हावि हुँदै गएको वर्तमान अवस्था हो ।

देशको तेस्रो ठूलो जाती मगर समुदाय भित्र प्रायः जसो हरेक गतिविधि र क्रियाकलाप गर्दा मगर समुदाय भनेको महिलाले नेतृत्व गर्ने समुदाय हो भनेर गर्व गरेको थुप्रै शब्दहरु सुनिदै आएका छौं त्यति मात्र होइन मगर समुदायका केही अगुवाहरुले कार्यक्रमहरुमा ठूला ठूला भाषण गर्दै बारम्बार यस्ता शब्दहरु सुनाउने गर्दछन् तर व्यवहारमा हेर्ने हो भने अहिले पनि मगर संघमा मगर महिलाले नेतृत्व सम्माल्ने अवसर प्राप्त गर्न सकेका छैनन् । मगर समुदाय भित्र महिलाले मातृसत्ता नेतृत्व गरेको छ भन्ने उक्ति आजका दिनसम्म केवल भाषणमा मात्र सिमित रहेको पाईन्छ । केही महिना अघि नेपाल मगर महिला रुपन्देही जिल्लाले गरेको प्रथम मगर साहित्य महोत्सवमा सहभागी हुने मौका पाएकी थिए । उक्त कार्यक्रममा आउने विद्वान मगर महिलाहरुको एकमुष्ठ आवाज सुन्दा कताकता लेखिकालाई पनि सोच्न बाध्य बनायो । साँच्चै नै हामी कहाँ छौं त ? मगर समुदाय मातृसत्ता हो भनेर हाम्रा अग्रजहरुले बारम्बार भन्ने गरेता पनि व्यवहारमा लागु नहुँदा मातृसत्ता भन्ने शब्दले मगर महिलाहरुलाई पीडा दिएको बोध महिलाहरु जब बोल्न थाले तब थाहा भयोे कि साँच्चै नै मगर महिलाहरु पितृसत्ता संरचनामा चल्न बाध्य भएका रहेछन् । मगर समुदाय भित्र मातृसत्ताको वकालत गर्दै गर्दा हामी अन्य समुदायका विषयमा पनि कुरा गर्न पछि पर्दैनौं । आफ्ना कुरा थाति राखेर अन्य समुदायका विषयलाई कोट्याउने गर्दछौं फलाना जात यस्तो उस्तो भन्ने गर्दछौं अन्य समुदायको कुरा गरेर हामी थाक्दैनौं तर एक पटक हामी आफ्नै घर भित्र निहालेर हेरौं भने हामी मगर समुदायको चरित्र कस्तो छ भन्ने कुरा छर्लङग देखिन्छ । हामी मगर समुदायले बोलीमा एउटा र व्यवहारमा अर्कै गतिविधि गर्दै अघि बढी रहेको अवस्था त होइन भनेर प्रश्न खडा हुन्छ। तर हामीले बोल्दै आएको मातृसत्ताका विषयलाई व्यवहारमा उतार्न भने मगर समुदायका अगुवाहरुले चिन्तनमनन गर्न सकिराखेका छैनन्। शब्दमा मगर समुदाय मातृसत्ता भनेर चर्का भाषण गरेतापनि व्यवहारमा कति पनि लागु हुन सकेको अवस्था छैन । जब महिला पारिवारिक, सामाजिक र राजनीतिक आर्थिक पक्षबाट नेतृत्वमा जान प्रयास गर्दछन् तब महिलाहरुलाई असक्षमको बिल्ला भिराई दिने गर्दछन् । या त कमजोर चरित्रको चित्रणलाई बढवा दिर्दै नेतृत्व गर्न नसक्ने उपनाम दिएर महिलालाई नेतृत्वबाट पन्छाई दिने काम भईरहेको छ । जनसंख्याले देशको तेस्रो ठूलो जाती भित्र पर्ने मगर समुदायका महिलाहरु आज पनि राज्यको निर्णायक तहमा हेर्दा हातमा गन्न सकिने मात्र मगर महिलाको नेतृत्व देख्न सकिन्छ । यस्तो अवस्था आउनुको कारण स्यम् मगर संघका अगुवाहरुको साथ सर्पोट नपाउनु रहेको प्रथम मगर साहित्य महोत्सवमा आउने विद्वान महिलाहरुको एउटै आवाज थियो ।

राज्यको नेतृत्व तहमा पुग्नकोलागि पहिलो खुड्किलो आफ्नै समुदाय र संघ जिम्मेवारी रहुनु पर्ने भन्दैै मगर महिलाहरुले गुनासो पोखेका थिए । हुन त नेपालको पेरीफेरीमा हेर्दा मगर समुदायका महिला मात्र होइन सिङगो देशमा रहेका नेपाली महिलाको अवस्था उस्तै–उस्तै देखिन्छ तर कुरा यति मात्र हो कि आदिबासी जनजाति भित्र पर्ने मगर समुदायका महिलालाई इतिहासको कालखण्डदेखि आजसम्मपनि मातृसत्ताको अवशेष झुन्डाइएको छ । तर व्यवहारमा होइन केवल शब्दमा मात्र । यदि मगर समुदाय मातृसत्ता हो भने सामाजिक, पारिवारीक र राजनैतिक तथा आर्थिक पक्षमा किन अहिलेसम्म कमजोर अवस्था देखिएको छ भन्ने मुख्य विषय हो ।

समग्रमा भन्नु पर्दा इतिहासको कालखण्डमा महिला नेतृत्वमा बलियो उपस्थिति रहेतापनि विस्तारै मातृसत्ता भित्र पितृसत्ताको हावी भएपछि महिलाहरु ओझेलमा परेको देखिन्छ । परिवार देखि सामाजिक तथा राजनीतिक र आर्थिक लगायत राज्यको नीति निर्माण तथा महत्वपूर्ण कार्यक्रममा समेत महिलाको अवस्था अहिले पनि सहभागिको रुपमा बढी देखिन्छ । त्यसकारण समग्र महिलाको समस्या एउटै भएतापनि मगर समुदाय भित्र विगतदेखि नै भन्दै आएको मातृसत्ता केवल शब्दमा सिमित नहोस् भन्ने मनसाय हो । कि मगर समुदाय भित्र बारम्बार बोलिने शब्द मातृसत्तालाई सही ढंगले प्रयोगमा ल्याउनु परयो कार्यान्वयन तथा व्यवहारमा लागु गर्नु परयो होइन भने शब्दमा मात्र प्रयोग गरेर समुदायमा बोल्नुको कुनै तुक रहदैन ।