औपचारिक रूपमा प्रतिबन्ध हुनुभन्दा दुई घण्टा अघि शनिबार रातिदेखि अमेरिकामा टिकटक बन्द भएको छ । प्रयोगकर्ताहरुले टिकटक खोल्ने प्रयास गर्दा उनीहरुले सन्देश पाएका थिए । जसमा लेखिएको थियो, ‘माफ गर्नुहोला, टिकटक अहिले उपलब्ध छैन । टिकटकलाई प्रतिबन्ध गर्ने कानुन अमेरिकामा लागु भएको छ । दुर्भाग्यवश, यसको अर्थ तपाईंले टिकटक प्रयोग गर्न सक्नुहुँदैन ।’
यता, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् । डोनाल्ड ट्रम्पले एनबीसी न्यूजलाई यस विषयमा सोमबार पदभार ग्रहण गरेपछि घोषणा गरिने बताएका हुन्।
‘९० दिनको छूट सबैभन्दा सम्भावित विकल्प हो किनभने यो अर्थपूर्ण छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्छ’ ट्रम्पले एनबीसी न्यूजसँगको फोन अन्तर्वार्तामा भने। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको थियो। टिकटकलाई यस प्रतिबन्धबाट बचाउन यसको मूल कम्पनी बाइटडान्सले यसलाई बेच्नु पर्ने हुन्छ।



















