काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले सहभागी अहिलेको सरकार प्राकृतिक भएको दाबि गरे ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्ने कुरा प्राकृतिक हुने बताए ।
कांग्रेस एमाले सधैँ भरिका लागि नमिलेको भन्दै उनले जनताको बिचमा जाने बेलामा दुवै दल एक्लाएक्लै निर्वाचनमा सहभागी हुने बताए ।
एमाले पार्टीको नीति एमालेको मात्र नीति नभएर देशको नीति बन्नुपर्ने बताएका पोखरेलले त्यसका लागि २०८४ मा एमालेको एकल बहुमतको सरकार हुनुपर्ने जिकिर गरे ।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै उनले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । प्रधानमन्त्री ओली राष्ट्र निर्माण गर्ने व्यक्ति भएको चर्चा गर्दै उनले अहिले ओलीमाथि चौतर्फी हमला भइरहेको बताए । उनले समाजलाई अघि बढाउन समाजमा आशा जगाउनुपर्ने भन्दै प्रधानमन्त्री ओली आशाको संवाहक भएको जिकिर गरे ।


















