ताप्लेजुङको मुन्धुमीस्थल मुक्कुमलुङ (पाथीभरा)मा ‘नो केवलकार’ पक्षमाथि बर्बर दमन गरेर केवलकार निर्माण कार्य जारी राखेपछि आज बिहानैदेखि अनिश्चितकालीन यातायात बन्द भएको छ । मुक्कुमलुङ संरक्षण र केवलकार खारेजी सङ्घर्षरत सम्पूर्ण संस्था र राजनीतिक दलहरूले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमदेखि ताप्लेजुङ प्रवेश गर्ने सडकहरूमा यातायात बन्द गरेका हुन् । बन्दले जनजीवन प्रभावित भएको छ ।
बन्द आह्वान गर्नेमध्येका एक संस्था मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति संयोजक श्रीप्रसाद लिम्बूले बन्दका क्रममा एम्बुलेन्स, दूध बोक्ने गाडी र शव वाहनबाहेक सबै सवारी साधन चल्न नदिइने बताए । आन्दोलनरत पक्षको मुख्य माग मुक्कुमलुङमा केवलकार निर्माण खारेजी हो । तर, केवलकार निर्माण कम्पनी सुन्ने पक्षमा छैन । स्थानीय प्रशासनले पनि आन्दोलनरत पक्षको मागलाई पूरापूर बेवास्ता गर्दै आएको छ । उल्टै आन्दोलनकारीमाथि गोली ठोक्ने आदेश दिने गरेको छ । कडा सुरक्षा घेराबीच केवलकार निर्माणको काम गराउँदै आएको छ ।
यसविरुद्ध आन्दोलनरत पक्षहरूले आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेका हुन् । उनीहरूले केवलकार निर्माणका लगानीकर्ता रहेका उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश निषेध गरेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनुकटा, झापा, मोरङ र सुनसरीमा ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंकका शाखाहरू बन्द गर्ने कार्यक्रम पनि बन्द आह्वानकर्ताहरूको छ । उक्त बैंकको खाता बन्द गर्न पनि आह्वान गरिएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्लाबाहिर निधेष गरिएको छ । पाथीभरा क्षेत्र विकास समिति खारेजीको माग भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग आन्दोलनरत पक्षको छ । उनीहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । मुक्कुमलुङ संरक्षण प्रेमीहरूमाथि गोली नचलाउन, राज्य आतङ्क, प्रहरी दमन र ज्यातदी बन्द गर्न, धर्ममा व्यापारीकरण बन्द गर्न र केवलकार निर्माण खारेज गर्न आन्दोलनमै रहेको संस्था किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको पनि राजीनामा माग गरेको छ ।
तर, सरकारले सुरक्षा व्यवस्था कडा पारेपछि निर्माण कम्पनीले केवलकार निर्माणको कार्यलाई झनै गति दिएको छ । ढकालको लगानी रहेको केवलकार निर्माण भने ठेकेदार इन्द्र केदेमको कम्पनी हिमालयन कन्स्ट्रक्सन प्रा.लि.ले गर्दै आएको छ ।
केदेमले केवलकारको स्टेशन प्वाइन्टमा धमाधम काम भइरहेको बताए । ‘राज्यको सहयोगमा हामीले यहाँ धमाधम काम गरिरहेका छौँ । कसैले रोक्न सक्दैन ।’
मुक्कुमलुङमा केवलकार निर्माणका लागि राज्यशक्ति नै लागिपरेको अवस्था छ । लामो समयदेखि आदिवासी लिम्बू समुदायले आफ्नो मुन्धुमीस्थलमा केवलकार निर्माण योजनाको विरोध जनाउँदै आएको छ । जबकि, कुनै पनि विकास निर्माणको योजना सञ्चालनपूर्व स्थानीय सरोकारवाला पक्षसँग स्वतन्त्रपूर्वक पूर्वसूचित मञ्जुरीनामा गराउनुपर्छ । तर, त्यसविपरीत बल प्रयोग गरेर स्थानीय प्रशासन र निर्माण कम्पनी अघि बढेका छन् ।
शनिबार जिल्लाको फुङ्लिङ नगरपालिकाको वडा नम्बर १० र ११ को सीमामा पर्ने बलुडाँडामा सशस्त्र प्रहरी र आन्दोलनरत पक्षबीच तनाव भएको थियो । त्यसक्रममा आन्दोलनरत पक्षले ढुङ्गामुडा प्रहार गरेको भन्दै सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
त्यसक्रममा तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा गोली लागेर गम्भीर घाइते भए । उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको तुम्बापोले बताइन् ।
नेपाली सेनाको स्काई ट्रकमार्फत आइतबार उपचारका लागि काठमाडौं ल्याइएका सगुनको छात्तीमा र यामबहादुरको तिघ्रामा गोलीले लागेको छ । दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । धर्मको भने कुमको हड्डी भाँचिएको छ । गोली लागेरै विशाल लिम्बू र ध्वजनारायण लिम्बू घाइते भएका छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको लिम्बूले जानकारी दिए । उनका अनुसार दुई जनालाई प्रहरीले हिरासतमा राखेको छ ।
मुक्कुमलुङमा केवलकार खारेजीको माग गर्ने पक्षमाथि चर्को दमन भएपछि काठमाडौंसँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र धनकुटालगायत जिल्लामा आइतबार आन्दोलनरत पक्षले विरोध गर्दै प्रदर्शन गरेका थिए । आजदेखि भने अनिश्चितकालीन यातायात बन्द गरेका हुन् ।
बलुडाँडा घटनाप्रति माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, कांग्रेस सांसदहरू मैया श्रेष्ठ लावती, प्रदीपकुमार सुनुवार, नेकपा एसकी सांसद खिनु लङ्वा लिम्बुलगायतले विरोध जनाउँदै राज्य आतङ्क बन्द गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समुदायको मागअनुसार विकास निर्माणका संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । तत्काल समस्या समाधानका लागि सरकार पक्षले तदारुकता देखाउनुपर्नेमा सुझाएका छन् ।
कांग्रेसका पाँचथर सभापति रुपनारायण जबेगूले पनि शान्तिपूर्ण ढंगले समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । तर, स्थानीय प्रशासन आन्दोलनरत पक्षसँग वार्ता र सम्वादका लागि अनिच्छुक देखिएको छ । बरु, सशस्त्र प्रहरी पठाएर बलुडाँडामा आन्दोलनकारीहरू बस्ने घरहरूमा तोडफोड गराएको लिम्बूले बताए । उनले समीर लिम्बू, खगेन्द्र लिम्बू, ईश्वर लिम्बू, रमेश राई, एलिसा लिम्बू र राजन लिम्बूको घरको ढोका तोडफोड गरेको र घरधनीहरूलाई खेदाएको बताए । आइतबार भने केही घरका मान्छेहरू आएको र धेरै भने त्रासले नआएको उनको भनाइ छ ।
यही १५ पुसमा मुकुम्लुङ संरक्षण सङ्घर्ष समितिको टोलीमा रहेका जनम इधिङ्गो, सुशील नुगो र सञ्जोग नुगोलाई केवलकार निर्माण गर्न ठेक्का पाएका ठेकेदार इन्द्र केदेम पक्षले कुटपिट गरेको थियो । उल्टै प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।
केवलकार निर्माण आयोजनाको गत २३ कात्तिकमा मेसिन लगेर शिलान्यास गरिएको थियो । त्यसबेला पनि सरकार पक्षबाट बल प्रयोग भएको थियो । मजदुर अर्जुन लिम्बुमाथि ठेकेदार पक्षबाट खुकुरी प्रहार भएको थियो । त्यसबेला अर्जुन घाइते भए । तर, किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयले लिएन । जिल्ला अदालतले पनि मुद्दा दर्ता गर्न अस्वीकार गर्यो । हतियार प्रहार भएका अर्जुनले कर्तव्य ज्यान उद्योगसम्बन्धी जाहेरी दिएका थिए । यसपछि अर्जुन उजुरीका लागि उच्च अदालत इलाम आए । त्यहाँ भने दर्ता भएको छ । तर, अदालतले मुद्दामाथिको कारबाही थालेको छैन ।
यसअघि आन्दोलनकारीको दबाबपछि तल्लो फेदीबाट सशस्त्र प्रहरी हटेका थिए । यद्यपि, प्रहरी र सशस्त्र दुवै सुरक्षा निकायलाई लगेर पछिल्लोपटक सरकारले राखेको हो । यसलाई आन्दोलनकारीहरूले जबर्जस्ती केवलकार निर्माण गर्न सरकारी पक्ष अघि बढेको अर्थमा बुझेका छन् । नभन्दै ठूलो सुरक्षा घेराबीचमा केवलकारको स्टेशन निर्माण भइरहेको छ । आन्दोनलकारीहरूले भने पवित्र मुन्धुमीस्थलमा केवलकार बनाउनु अनुचित भन्दै आएका छन् । हुन पनि केवलकार निर्माण गर्दा त्यहाँ हजारौँ रुख कटान भइसकेको छ, जसले पर्यावरणीय सन्तुलनमै खलल पुर्याउन सक्ने चिन्ता प्रकट भइरहेको छ । अर्कातिर हाल मुकुम्लुङका कारण करिब ८ सय परिवारले जीवन निर्वाह गर्दै आएका छन् । उनीहरूले असक्त र अपाङ्गता भएका लगायतलाई बोकेर मुकुम्लुङ पुर्याउँछन् । त्यसवापत निश्चित शुल्क लिन्छन् । त्यसले ठूलो परिवारलाई रोजगारी प्रदान गरेको छ ।
केवलकार निर्माण परियोजनाले तीनवटा स्थानीय तह प्रभावित हुन्छन् । फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिका हुन् । हालसम्म फुङलिङबाहेकका दुवै स्थानीय तहले केवलकार निर्माण लागि सहमति दिएका छैनन् । तर, पनि परियोजना निर्माण कार्य दमन गराएर भए पनि अघि बढाउने पक्षमा ठेकेदार कम्पनी देखिएको छ । यसविरुद्ध सोमबार अन्तरदलीय संघर्ष समितिले पनि विरोध जनाएको छ । तर, आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति आयोग भने अस्वाभाविक रूपमा मौन छन् ।


















