भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् ।
घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेकाले उनीहरुले पुन: होस्टल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे शर्तहरु अघि सारेका छन् ।
१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।
२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।
४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।
५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।
६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।
७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।
८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।
नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुलाई छानीछानी आक्रमण गरिएको उनीहरुको गुनासो छ । आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् ।
यी घटनाका प्रमाणहरू सुरक्षित राख्न र सत्य उजागर गर्न नेपाली विद्यार्थीहरुले १७ फेब्रुअरी २०२५ को बिहान ७ बजेदेखि १२ बजेसम्मको अवधिका केपी ८ ए, केपी ८ ब्लक सी र बी तथा केपी २६को सीसीटीभी फुटेज हेर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई अनुरोध समेत गरेका छन् । भारतीय पक्षले आक्रमण गर्दै भुवनेश्वर, कटक, खुर्दा र मञ्चेश्वर लगायतका रेलवे स्टेसनतर्फ लखेटेको गुनासो नेपाली विद्यार्थीको छ ।
भारतमा नेपाली विद्यार्थीको मृत्यु र आक्रमणका घटनापछि नेपालमा समेत विरोधका आवाज उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा चासो व्यक्त गर्दै दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई घटनास्थलमा पठाइएको र नेपाली विद्यार्थीहरुलाई आफ्नो इच्छा अनुसार होस्टलमै बस्न वा घर फर्किन मिल्ने व्यवस्था मिलाइएको बताएका छन् ।


















