अच्युतप्रसाद पौडेल ‘चिन्तन’
आज आठ मार्च भनौँ २४ फागुन, नारी दिवस, पुरुष दिवस छैन कतै । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता, यो भनाइ मनुस्मृतिकोे हो । मनुस्मृतिकोे भनाइमा जहाँ नारीको पूजा भनाँै सम्मान हुन्छ त्यहाँ देवताहरु खुशी रह्न्छन् । न अरि नारी ! अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन उसको नाम नारी हो ! पुरुष दिवस मनाउने परम्परा अहिलेसम्म कतै छैन तर नारीको सम्मान गर्ने पर्व नारी दिवसलाई संसारले चिनेको, पाएको छ । सिर्जनाकी स्रोत नारी पृथ्वी हुन्, स्तुत्या छिन्, वन्दनिया र पूजनीया पनि ! पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रुपमा स्वीकार गरिएको छ । माता, भनौं धरणी अर्थात् धर्ती कसको लागि अप्रिय हुन्छ र !
श्री भन्नु ऐश्वर्य हो र मति भन्नु विचार हो, यसबाट श्रीमती शब्दको सहजै अर्थ लगाउन सकिन्छ । पूजा, वन्दना, आराधनामा सर्वप्रथम “त्वमेव माता”, भनी सम्बोधन गरिन्छ । त्यस्तै औपचारिक सम्बोधनमा पहिले लेडिज् एण्ड.. । वालवच्चाको पहिलो खानामा आमा, भान्साको कुशल व्यवस्थापनमा नारी, पतिको सेवा सुश्रुषामा पहिलो प्राथमिकता, पुत्र, पुत्री स्नेहमा पहिलो वात्सल्यता, दिएर मात्रै आफू अघाउने मातृवत्सला देवी स्वरुपिणी नारीको जति स्तुति गरे पनि कम नै हुन्छ । नारीलाई भोग्या, बजारकी खेलौना, सौन्दर्य र कामुकताको व्यापारमा राख्ने आधुनिक शैलीलाई पूर्वीय वाङ्गमयका धरोहर हरुले चोटिलो प्रहार गरेका छन् । नरसंहारकारी रावण, कंस, दुस्शासन जस्ता दुष्टहरुलाई क्षणभरमै सिध्याउन सक्ने नारीमा दैवीशक्ति र सत्ता हुन्छ जसलाई ठाडो नजरले कुनै दुष्टले आँखा लाउन सक्दैन ।
महिषासुर, चण्ड, मुण्ड, रक्तवीजदेखि तमाम असत्यको विनाश गर्ने स्त्री नारी नै हुन् – द्रौपदी, सीता, अहिल्या, अरुन्धती यशोदा, देवकी, कुन्ती सवै नारी पात्र हुन् जसले पौराणिक साहित्यमा अनुपम उदाहरण पेश गरेका छन् । सृष्टिकर्ता ब्रह्माजी, पालनकर्ता श्रीविष्णु र संहारकर्ता श्रीशिव सवै नारीका उपासक थिए र नारीबाटै शक्ति एवं सामाथ्र्य पाएर नै आफ्नो कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए । किल्लाको रक्षक नारीलाई सीमानाको रक्षक दुर्ग अर्थात् “दुर्गा” को रुपमा चिनिन्छ । भय, त्रास, सन्त्रास, दूर्भिक्ष रोक्ने नारी पतिव्रता धर्म पालन गर्ने नारीमा वायुको गति रोक्ने सामथ्र्य हुन्छ भनिएको छ । वासनापूर्तिको रुपमा ग्रहण गर्न लागेको रावणको विध्वंश गर्ने नारी सीता कंसको काल वनेर विन्ध्यवासिनीको रुपमा आएकी हुन् । छिट्फूट नारीमा “पुतना” को अंश, “होलिका” को अंश नदेखिने होइन तर समग्रमा भन्नुपर्दा स्त्री घरकी शोभा हुन्, कुटुम्वकी प्रिया हुन्, गृहस्थ धर्मकी आधारशीला हुन् र आवश्यक परेका वखत “रणचण्डिका” पनि हुन्छिन् । ब्राह्मी, वाराही, वगलामुखी, त्रिपुरादेवी, इन्द्राक्षी, वैष्णवी, कौमारी, माहेश्वरी आदि नामले चिनिने नारी भोगवती र रुपमती मात्रै होइन मायावती पनि हुन् । जुन घरमा नारीको सम्मान हुन्न, जुन समूहमा नारीको आदर हुन्न, जुन मन्दिरमा देवीको प्रसाद हुन्न – कुनै दृष्टिले पनि त्यसले सार्थकता पाउँदैन । कुलधर्मकी रक्षिका कुलदेवी नारी कन्या हुन् । पूजा गरिइन्छिन्, वधु हुन्, कुलवधु हुन्छिन्, आमा हुन्छिन् र सम्मानित सासुसमेत । पूर्वीयदर्शन, हिन्दुपरम्पराले देखाएको नारी सम्मान सायदै अन्य संस्कृति, धर्मदर्शनले देखाएको होला । घरकी लक्ष्मी, धनकी प्रतीक, वचत तथा वानी व्यहोराका भण्डार स्रोत रहेकी एक नारीले सयौँ सन्तान, शिष्यलाई अनुशासित र मर्यादित रुपमा राख्न सिकाउछिन् । १० पुरुष शिक्षित हुन १ नारी शिक्षित हुनु जतिकै प्रतिफल समाजले प्राप्त गर्न सक्छ ।
आद्यगुरु शङ्कराचार्य दैवी नारी त्रिपुरादेवीका उपासक थिए । धर्मराज युधिष्ठिर दैवीनारी दुर्गाका उपासक थिए । सर्वेश्वर श्रीकृष्ण हराएका वखत उनको प्राप्तिका लागि वावु वसुदेवले देवीकै उपासना गरेका थिए । स्वामी रामकृष्ण परमहंस देवी कालीका उपासक थिए । स्वामी विवेकानन्द देवी नारीका उपासक थिए । जगत् संचालक नारयणकी प्रिया देवी नारीको नाम नारायणी हो । पृथ्वीमा रहेका सम्पूर्ण नदी तीर्थ क्षेत्रलाई देवी संरक्षिकाको रुपमा हेर्ने गरिन्छ । शिवकी शक्ति उमा ब्रह्माकी शक्ति सरस्वती नारी नै हुन् । दुर्गा, सुभद्रा शाम्भवीदेखि रोहिणी भद्रा, जया, विजया सवै नारी नाम हुन् । हामीले चाहेको जीवन्त जीवन संचालनदेखि सम्पूर्ण जगत् संचालनमा नारीको हक, हित, संरक्षण गर्न सके हामीले हाम्रै सम्मान गरेको ठहर्छ । केही आधुनिक नारीको वकालत गर्नेहरुबाट भने नारीको सम्मान र संरक्षण नभएको पाइएको छ । नारीमा भएको आधार शक्तिको पहिचान हुन वाँकी नै छ हाम्रो समाजमा । संसार हांक्ने नारी मुलुकका राष्ट्रपतिदेखि कार्यकारी प्रमुख प्रधानमंत्रीसम्म राष्टृपति सम्म पनि वनेका उदाहरण यसै संसारमा पाइएकोे छ । नारीलाई अवसरको आवश्यकता छ, उनीहरु आफँै योग्य छन्, योग्यता दर्शाउन आफैँ सक्दछन् ।
यति भनिदैमा हामीकहाँ महिलाको स्थान साहृै उच्च छ भन्ने चाहिँ होइन । बोक्सी भनी सताइने, कम दाइजो भनी सताइने, छाउपडीको सकस, लगभग १ दिनमा ६ जना सम्म खुल्ला बलात्कृत हुने अवस्था यी यस्ता घटना हामीकहाँ बग्रेल्ती छन् । आज देशमा धर्म हराएको छ । बालिकाहरु बलात्कारमा परेका छन् । निर्मलाको घटना नसेलाउँदै बझाँगकी सम्झना, वैतडीकीभागरथीको घटनाले देशमा सनसनी छाएको हो । प्रहरी सूत्रका अनुसार दिनमा ६।७ जना छोरी, बहिनीहरु बलात्कारको शिकार भएका छन् । समस्या थपिएपछि मात्र घटना बाहिर आउने हुन्, नभए घरभित्रै घटनाहरु सेलाउँछन् । प्रहरीको सूचनामा आएका केसहरु धेरै छन् । दिदी, बहिनी आप्mनै हाड नातामा करणीमा पर्ने गरेका छन् भने न्यायको तराजु बोक्नेहरु नै यौन पिपासु हँुदा समाजले बढी के आशा गर्ने र ? बाबु, काका, दाजु, मामा, ससुरा, छिमेकी, नचिनेका व्यक्ति, पारपाचुके भइसकेका श्रीमान्, घर मालिक, शिक्षक, केटा साथी, आप्mनै भिनाजुबाट यौन अपेक्षा गर्दा कोही संरक्षित नभएको स्पष्ट हुन्छ । कुरा मिलुन्जेल केही नभन्ने जब गर्भ रहेमा, कुरा बाहिर फुस्केमा घटना बाहिर आउने गरेको पाइन्छ । एसिड आक्रमणको कुरा धेरै रह्यो पहिले । मानिसले बनाएको कानुनले मात्र छेक्न नसकेरै धर्म, दर्शनले यौन बारे सिमा तोकेको हो, तर अहिले धर्म दर्शन, सामाजिक मूल्य मान्यतालाई धराशायी बनाइएकाले अमेरिकामा भन्दा हामीकहाँ किशोरीहरु बलात्कार हुने संख्या कम छ भनेर भनिरहेका छौँ । साँच्चै अमेरिकामा प्रति ७ मिनेटमा १ किशोरीको बलात्कार हुँदोरहेछ । त्यसो त त्यहाँ पारपाचुके दर पनि धेरै छ । हामीले धर्म शास्त्रलाई बिर्सेर समाज धेरै खुल्ला गरेकाले नारी रत्नहरु आज बढी असुरक्षित भएका हुन् ।

















