खानेपानीको मुहानहरूमा भइरहेको राजनीति अन्त्य गर्छौँ :मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरूमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको अन्त्य गर्नको लागि लागिपरेको बताए । उनले सुकेका खानेपानीको मुहानहरूलाई पुरानै अवस्थामा फर्काउनको लागि प्राथमिकता साथ बजेट विनियोजन गरिने समेत बताए ।

उनले अहिले २७ प्रतिशत जनसङ्ख्या स्वच्छ खानेपानीको पहुँचमा रहेको भन्दै अबको एक वर्षभित्र यो संख्या बढाएर ५७ प्रतिशत पुर्‍याइने समेत दाबी गरे ।

उनले आम नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सवालमा सरकार प्रतिबद्ध रहेको बताए ।