नेपालगन्ज बाँकेको चार लेन सडक अन्तर्गत सुर्खेत रोडको किनारका ‘बगमबेली’ फूलको सुन्दरताको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक भइरहेको छ ।

सुर्खेत रोडको ग्रिनबेल्टमा लगाएका विभिन्न प्रजातिका फूल फुलेपछि यसको चर्चा भएको ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ का संयोजक डा. विनोद कर्णले जानकारी दिनुभयो।
उहाँले नेपालगन्जका छाडा चौपायाबाट ग्रिन बेल्टका बिरुवा जोगाउन ठुलो चुनौती रहे पनि आफूहरुले पालैपालो बिरुवामा सिंचाइ गर्ने र चौपाया धपाउने काम गर्दै आएकोले अहिले सुर्खेत रोडमा फूलैफूलको सुन्दरता देख्न पाउदा खुशी लागेको बताउनु भयो ।
केही वर्ष अगाडि यसरी आफू र केही साथीहरु मिलेर यस्तो खालको योजना लिएर सुर्खेत रोडमा बगमबेली लगायतका फूलका विरुवा रोपेको र त्यसले यति बेला नेपालगन्ज शहरकोलाई सुन्दर मात्र होइन चारैतिर मन जित्न सफल भएकोमा अझ काम गर्न हौसला र प्रेरणा मिलेको उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिनु भएको छ । यस्ता कार्यमा सबैको हातेमालो हुनु पर्ने सुझाव पनि दिनु भएको छ ।

उहाँको टिमले सुरु गरेको विरुवा रोप्ने अभियानमा पछि भने विस्तारै उपमहानगरपालिका कार्यालयसँगै निजि तथा सामाजिक क्षेत्र पनि जोडिएका थिए ।
नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले अब नेपालगन्ज न्यूरोडको ग्रिनबेल्ट र चार लेन सडकको फुटपाथमा पनि फूल रोपेर सुन्दरता कायम गर्नुपर्ने बताउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका निःवर्तमान उपमेयर उमा थापामगरले यसरी बगमबेली फूल फुल्दा नेपालगन्ज शहर सुन्दर मात्र होइन आम जनमानसको मन लोभ्याउन सफल भएकोमा खुशी लागेको बताउनु भयो । यसरी नै नपालगन्ज लगायतका अन्य क्षेत्रमा पनि सुन्दर फूल रोपेर आफ्नो ठाउँलाई चिनाउन सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले चार लेन सडकको ग्रिनबेल्टमा हुर्किएका फूल र बिरुवाको संरक्षणमा उपमहानगरपालिकाले विशेष ध्यान दिँदै आएको बताउदै यसलाई संरक्षण गर्न सबै नगरबासीको साथ हुनु पर्ने बताउनु भयो । त्यसैगरी हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा रोपेका बिरुवा हुर्केर अहिले शहर सुन्दर बनेको देख्दा खुसी लागेको बताउनु भयो ।



















