सय रुपैयाँ खोसेको निहुमा साथिको हत्या

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ बोडेस्थित निलबाराही जंगलमा चैत १० गते एक जनाको शव फेला प¥यो।

खोटाङको केपिलाशगढी गाउँपालिका २ घर भई भक्तपुरको बोडेस्थित कमलपोखरी बस्दै आएका ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको थियो।

उनी प्लास्टिक, बोत्तल टिप्ने काम गर्थे।

टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो।
प्रहरीका अनुसार ओमप्रकाश राईको ढुंगाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोल्पाको परिवर्तन गाउँपालिका ६ का ५७ वर्षीय हिमाल बुढा मगरले आफूले ढुंगाले हानेर राईको हत्या गरेको बयान दिएका छन्।

‘चैत ९ गते साँझ ओमप्रकाश राई र मैले निलबाराहीस्थित भट्टीमा पाँच÷छ गिलास रक्सी खायौं। सुत्न जाने क्रममा ओमप्रकाश राईले मेरो साथमा रहेको सय रुपैयाँ खोसेर लिएपछि मैले फिर्ता मागेको थिएँ। उनले पैसा हातमा च्यापेर बसे, ‘मेरो पैसा फिर्ता नगरेपछि मैले उनलाई भुइँमा लडाएर सोही ठाउँमा रहेको ढुंगा उठाएर पटक पटक टाउकोमा प्रहार गरेको हुँ।’