जंगबहादुर राष्ट्रबाट किन उपेक्षित ?

नेपाल गौरवपूर्ण अतीत भएको देश हो । यो मुलुकको आन, मान र सान राख्न धेरै व्यक्तिहरूले विगतमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । राष्ट्रलाई चिरस्थायी योगदान पुर्‍याउने गरिमा र छवि उजिल्याउने विदेशमा पहिचान गराउने र देशको स्वतन्त्र अस्तित्वलाई आँच आउन नदिने जस्ता उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरूलाई राष्ट्रले सम्मान गर्ने गरेको छ । यसरी सम्मानित हुनेहरूमा शासक तथा प्रशासक मात्र नभएर कलाकार, साहित्यकार, दार्शनिक, विशिष्ट विद्वान् आदि हुने गरेका दृष्टान्त स्वदेश तथा विदेशमा प्रशस्तै पाइन्छन् । इतिहासका कालखण्डमा विशेष योगदान दिने यस्ता व्यक्तित्वहरूलाई सम्मान दिने प्रचलन नेपालमा पनि छ । स्थान, सरकारी भवन, सडक वा राजमार्गको नामकरण गरी तथा हुलाक टिकट र सिक्का निष्कासन गरी यस्ता प्रबुद्ध व्यक्तिहरूको स्मरण गर्ने गरिन्छ ।

श्री ५ महेन्द्रको पालामा राष्ट्रिय विभूति नै घोषणा गर्ने कार्य भएको थियो । मुलुकले सम्झनैपर्ने व्यक्ति जंगबहादुर यी माथि भनिएका कुनै पनि कुरामा समावेश भएनन् । सोही विषयमा इतिहासको विद्यार्थीका नाताले केही कुरा बोल्नैपर्ने देखेकाले यो आलेख तयार पारिएको हो ।

को हुन् जंगबहादुर ?
पृथ्वीनारायण शाहको विजय अभियानका महत्वपूर्ण सारथि रामकृष्ण कुँवरका वंशज हुन्, जंगबहादुर । रामकृष्ण कुँवरका छोरा काजी रणजितसिंह कुँवर र नाति बालनरसिंह कुँवर पनि नेपालका उच्चस्तरीय भारदार नै थिए । बालनरसिंह कुँवरले रणबहादुर शाहको हत्या गर्ने उनकै भाइ शेरबहादुर शाहीलाई तत्कालै काटेका थिए । भीमसेन थापा नेपालको राजनीतिमा सर्वेसर्वा भएको बेलामा बालनरसिंहले मोफसलका विभिन्न जिल्लामा बडाहाकिम भई कार्य गरेका थिए । यिनैका कान्छीपट्टिका जेठा छोरा हुन्, जंगबहादुर । उनी माथवरसिंह थापाका सहोदर भानिज थिए । भीमसेन थापाको अवसानपछि यी कुँवरहरू केही कालसम्म ढाक्रे भए भने माथवरसिंह थापा प्रधानमन्त्री भएपछि पुन: नेपालको शासन प्रणालीको केन्द्रमा नै स्थापित हुन पुगे । राजा राजेन्द्र, युवराज सुरेन्द्र तथा कान्छी महारानी राज्यलक्ष्मीदेवी सबैका प्रियपात्र हुन पुगेका जंगबहादुरले रानीको आदेशमा आफ्नै मामालाई गोली ठोके । वीरनरसिंहलाई जंगबहादुर भन्ने नामकरण गर्ने माथवर उनै भान्जा जंगबहादुरद्वारा मारिए । यसपछि जंगबहादुर राज्यलक्ष्मीका दाहिने हात भएर शक्ति सञ्चय गर्न सफल भए ।

रानीका प्रियपात्र गगनसिंहको हत्यापछि कोतमा भएको नरसंहारयुक्त काण्डको फाइदा उठाई जंगबहादुर प्रधानमन्त्री भए । जंगबहादुर श्री ३ मात्र भएनन्, जहानिया राणाशासन कायम गरी १०४ वर्षसम्म नेपालको शासनको बागडोर आफ्नै परिवारमा सीमित गर्ने संयन्त्र विकास गरे । १०४ वर्षसम्म नेपाली जनतालाई रैती बनाई दोस्रो दर्जाको नागरिक बनाई एकतन्त्रीय निरंकुश शासन पद्धति स्थापना गर्ने जंगबहादुर नै भए ।
राणा शासनमा नेपाल र नेपालीको अवस्थाका विषयमा प्रशस्त सामग्रीहरू आएका छन् । साथै सोधखोज हुने क्रम बढिरहेको छ । तथापि यहाँ राणा शासनको विषयमा चर्चा गर्न खोजिएको होइन । केवल जंगबहादुरकै सेरोफेरोमा केही विचार विमर्श गर्न खोजिएको हो । पृथ्वीनारायण शाहको मृत्युपछि उनका उत्तराधिकारीहरूका कमजोरीका कारण मुलुकमा षड्यन्त्रकारी राजनीति देखापर्‍यो । यसैकारण प्रतापसिंह र बहादुर शाह, बहादुर शाह र राजेन्द्रलक्ष्मी तथा बहादुर शाह र रणबहादुर बीच उचित समन्वय तथा सहकार्य हुनै सकेन । अन्तत्वगत्वा बहादुर शाह आत्महत्या गर्न बाध्य भए । रणबहादुर शाहमा शासकीय गुणको सर्वथा अभाव थियो । उनी भोगविलासतर्फ लागेका हुनाले उनले हुने नहुने सबै कार्य गरे । यसबाट धेरै राष्ट्रभक्त भारदारहरू मारिए ।

उनै रणबहादुर शाह आफ्नै भाइबाट काटिए । रणबहादुर शाहपछि सर्वेसर्वा हुन पुगेका भीमसेन थापाले आफ्ना विरोधी सबैलाई पन्छाई केही समय मुलुकलाई स्थिरता प्रदान गरे । तर, उनले पनि त्यही षड्यन्त्रकारी राजनीतिको कारण सेरिन बाध्य हुनुपर्‍यो । संवत् १८३२ देखि १८४६ सम्म नेपालको राजनीतिको अस्थिरताले चरम उत्कर्ष लियो । यसै अवधिमा विभिन्न काण्डहरू मच्चिए । थापा, पाण्डे, पौडेल, शाह जस्ता भारदारहरू बीचमा आपसी द्वन्द्व भई सत्तामा रहन चाकाचुली चल्यो । यही षड्यन्त्रकारी राजनीतिकै कारण कोत पर्व घटित हुन पुग्यो । यही कोत पर्वले जंगबहादुरको उदय गरायो ।

जंगबहादुरले मुलुकलाई के गुण लगाए ?
जंगबहादुरले जहानिया राणा शासनको जग बसाए । राणाकालमा कति राम्रा, कति नराम्रा काम भए होलान् । त्यसको लेखाजोखा हुँदै छ र हुँदै पनि जाला । जंगबहादुरले धेरै राम्रा कार्यहरू पनि गरेका थिए । जसको स्मरण हामीले गर्नैपर्छ । नेपालको षड्यन्त्रकारी राजनीतिको अन्त्य गरी मुलुकमा शान्ति र स्थिरता प्रदान गर्ने श्रेय जंगबहादुरलाई नै जान्छ । षड्यन्त्रकारी राजनीतिका लागि तत्कालीन राजा तथा नायबहरू नै उत्तरदायी थिए । कोत पर्व जस्ता काण्ड मच्चाउने कार्य तिनै शासक र राजपरिवारबाटै भएका थिए । यस अर्थमा जंगबहादुरलाई जंगबहादुर बनाउने शाह शासक नै हुन् तर जंगबहादुरलाई दोषी ठहर्‍याई राजपरिवारलाई पानीमाथि ओभानो बनाउने चक्र चल्नु इतिहासको मर्म र मान्यता विपरीत छ ।

जंगबहादुरले सन् १८१६ को सुगौली सन्धिले गुमाएको राप्ती र महाकाली बीचको भूभाग फिर्ता लिए । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुर स्वयं नेपाली सेनाको नेतृत्व गर्दै लखनौ पुगेका थिए । यो विद्रोह दमन गराउन नेपालले सहयोग गरेबापत जंगबहादुरलाई उक्त भूभाग अङ्ग्रेज सरकारले फिर्ता गरेको हो । सो विद्रोह दमन गराउने क्रममा नेपाली फौजले असंख्य हीरा जवाहरत जस्ता बहुमूल्य धातुहरू हात लगाउन सक्यो । यसैकारण आजसम्म पनि लखनउ लुट भन्ने आहान चलेको छ । अर्कोतिर केही सिपाही विद्रोह गर्ने हस्तीहरूलाई नेपालमा शरण दिए । गोरखा भर्ती र व्यापारको मामलामा अङ्ग्रेजको चाहना पूरा गर्दै गरेनन् । अङ्ग्रेजका आवासीय दूतसँग पनि नेपालको स्वाभिमान राख्न टक्कर लिए स्वतन्त्र मुलुकको राजदूतको हैसियतले प्रदान गरे पछि मात्र बेलायतको भ्रमण गरे यो भ्रमणपश्चात् दरबार स्कुल खोल्न पृष्ठभूमि तयार भयो । मुलुकी ऐन पहिलोपटक आयो, अंग्रेज सरकारसँग नेपालकै चाहना अनुरुप सुपुर्दगी सन्धि भयो । बेलायत सरकारसँग सिधै सम्पर्क गर्ने चाजोपाजो पनि मिल्यो ।

भोटलाई युद्धमा हराई सन् १८५६ को थापाथली सन्धि गर्ने श्रेय पनि जंगबहादुरलाई नै जान्छ । यस सन्धिबाट नेपालले धेरै एकतर्फी सुविधा प्राप्त गरेको थियो । यसबाट भोटमा नेपालको प्रभाव मात्र विस्तार भएन मुलुककै अर्थतन्त्रमा पनि बलियो टेवा पुगेको थियो । यस सन्धिले सन् १९५६ सम्म नेपाल भोट सम्बन्धको दिग्दर्शन गर्ने निर्णायक तत्व बन्न गयो ।

नेपालको प्रशासनिक व्यवस्थालाई समयानुकूल बनाउने, सतीप्रथालाई विभिन्न बन्देज लगाउने, जुवा खेल्न (विशेष पर्व र उत्सवमा मात्र जुवा खेल्न पाइने) बन्देज आफ्ना छोराछोरीलाई दास बनाउन बिक्री गर्न नपाउने पाँच वर्ष नभई विवाह गर्न नपाउने आयुर्वेद उपचारलाई प्रोत्साहन गर्ने हुलाक व्यवस्थालाई सुदृढ गर्ने तराईमा राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउने जस्ता अनेकौं सराहनीय कार्य भएका थिए । जंगबहादुर का विदेश नीति र आन्तरिक नीतिका विषयमा धेरै नै ग्रन्थ प्रकाशित भइसकेका छन् यहाँ केवल सूत्रात्मक रुपमा केही रूपरेखा मात्र प्रस्तुत गर्न खोजिएको छ ।

जंगबहादुरको उपेक्षा किन भयो ?
राणाकालमा जंगबहादुरलाई देवत्वकरण गर्ने धेरै कार्य भएका दृष्टान्त पाइन्छन् । भोटको सबाई उनको छोरा पद्मजङ (लाइफ अफ महाराजा जंगबहादुर) तत्कालीन वंशावली र साहित्यिक कृतिमा उनको स्तुतिगान प्रशस्तै भएका छन् । जंगबहादुरले बनाएको रोलक्रमलाई उनकै प्रिय कान्छो भाइ धीरशमशेरका छोराहरूले रणद्वीपसिंह जंगबहादुरका भाइको हत्या गरी लत्याए र राणाशाही धीर शमशेरकै परिवारमा सीमित गराए । तर जंगबहादुरको सम्मान गर्दै आफ्नो थरमा जंगबहादुर राणा लेख्ने प्रचलन प्रारम्भ गरे ।

२००७ सालको आन्दोलन सफल बनाउन राणा परिवारकै प्रमुख हात रहेको थियो । तत्कालीन इतिहासले यसै भन्छ । संवत २००७ सालपछि श्री ५ लाई देवत्वकरण र राणालाई दानवीकरण गर्न प्रारम्भ भयो । राणालाई समर्थन गर्ने देशद्रोही र विरोध गर्ने राष्ट्रभक्त कहलाउने परिपाटी निर्माण भयो । यसैको शिकार जंगबहादुर पनि भए । सम्वत् २०४६ सम्म पनि राणा शासनको वस्तुनिष्ठ मूल्याङ्कन हुनै सकेन । यथार्थमा भन्ने हो भने राणाशासन ल्याउने र मलजल गर्ने कार्य राजपरिवार (राजा त्रिभुवनबाहेक) बाटै भएको हो । वीर शमशेरलाई १९३८ र १९४२ मच्चाउन पनि राजदरबारकै प्रत्यक्षपरोक्ष हात थियो । रणोद्वीप सिंहको हत्या, देवशमशेरको निष्कासन जस्ता अनेकौँ काण्ड राजपरिवारकै समर्थनमा रचिएका हुन् । जंगबहादुरको अवमूल्यन गराई शाह राजाको उच्च मूल्याङ्कन गरिने कार्यले निरन्तरता पाउनु हुँदैन । विगतको सही विश्लेषण गर्नैपर्ने बेला आएको छ ।

संवत् २००७ सालपछि श्री ५ को प्रशंसा स्तुतिगान गरी राणा शासकलाई तथानाम गाली गर्ने माहोल तातेकै बेलामा राष्ट्रिय विभूति घोषणा गर्ने कार्य भयो । श्री ५ महेन्द्रले बालकृष्ण सम (शमशेर, २००७ पछाडि सम लेख्न थालेका) को अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा गौतमबुद्ध, अंशुवर्मा, राजा जनक, सीता, अरनिको, राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, भानुभक्त आचार्य, बलभद्र कुँवर, मोतिराम भट्ट र त्रिभुवनलाई मरणोपरान्त राष्ट्रिय विभूतिको सम्मान दिए । काठमाडौँबासीको आग्रहमा २०५६ सालमा शंखधर साख्वा, २०५९ सालमा पासाङ ह्लामु शेर्पा, २०६६ सालमा किराँतहरूको पहलमा महागुरु फाल्गुनन्द, भक्ति थापाका सन्ततिको माघपछि २०७८ सालमा भक्ति थापा र २०७९ सालमा जयपृथ्वीबहादुर सिंह गरी हालसम्म १८ जना राष्ट्रिय विभूति घोषणा भइसकेका छन् ।

विभूतिमा ६ जना राजा नै परेका छन् जसमा खस राज्यका मल्ल शासक, नेपाल खाल्डोका मल्ल राजा, बाइसी र चौबीसी राज्यका राजारजौटा पनि कोही परेनन् । यसमा शासकीय प्रभाव र तुष्टीकरणको नीतिले काम गरेको देखिन्छ । भीमसेन थापा अमरसिंह थापा भक्ति थापा बलभद्र कुँवरको कदर गरिनु ठीकै छ तर किन जंगबहादुर राणा यस सूचीमा परेनन् ? इतिहासलाई अध्ययन गर्ने हो भने भीमसेन थापाको कमजोरीबाट शिक्षा लिएर जंगबहादुरले आफ्नो सत्ता सुदृढीकरण गरेका थिए भने भीमसेन थापाले जसरी आफ्ना विरोधीहरूलाई सखाप पार्ने कार्य जंगबहादुरले गरेका थिएनन् । जनक र सीताको कुनै ऐतिहासिक प्रमाण नै छैन । आफ्नै मामा (ससुरा) बाट शासनसत्ता कब्जा गर्ने अंशुवर्मा किन सम्मानित भए ? मल्ल राजा र काजी भीम मल्ल जस्ता सपुतलाई किन बिर्सिइयो ? अरनिकोलाई सम्झँदा भृकुटीलाई किन बिर्सिइयो ? जस्ता प्रश्नहरू आज प्रबल बनेर आउन थालेका छन् ।

यी राष्ट्रिय विभूतिहरूको योगदान त आफ्नै ठाउँमा छ तर उक्त सूचीमा पृथ्वीनारायण शाहपछि जंगबहादुरकै नाम आउनुपर्ने हो । आधुनिक नेपालको इतिहासमा उच्च मूल्याङ्कन गर्नैपर्ने पृथ्वीनारायण शाह, जंगबहादुर र राजा महेन्द्र हुन् । यसमा कसैप्रति कुनै आग्रह वा कुनै पूर्वाग्रह हुनुहुँदैन ।

अन्तिमको भनाई
राजनीतिक पूर्वाग्रहबाट जंगबहादुर उपेक्षित भइरहे जंगबहादुरलाई उपेक्षित गराउन राजनीतिको प्रभाव छँदै छ तर जंगबहादुरकै सन्तानहरूले जंगबहादुरलाई सम्मानित गर्नुपर्छ भन्ने आवाज किन आजसम्म उठाएनन् ? यो पनि खड्किने तथ्य हो । संक्षेपमा भन्नुपर्दा नेपालको इतिहास वस्तुनिष्ठ ढङ्गबाट लेखिनुपर्ने र गुणदोष दुवैको लेखाजोखा गर्नुपर्ने खाँचो छ । यस कार्यबाट हिजो भएका कमी कमजोरीलाई सच्याउन सकिने हुन्छ राष्ट्रबाट उपेक्षित भए पनि जंगबहादुर नेपालको इतिहासमा सदैव सम्मानित छन् । र, सम्मानित रहिरहनेछन् । अस्तु !