हिमानी ट्रस्टले २४ वर्षअघि दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवार सदस्यको सम्झनामा दीप प्रज्ज्वलन गर्ने भएको छ। ट्रस्टले सोमबार पूर्व राजपरिवार सदस्यको सम्झनामा कमलादीमा दीप प्रज्ज्वलन गर्ने भएको हो।
यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कमलादीमा सार्ने निर्णय भएको ट्रस्टले जानकारी दिएको छ। सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्जवलन गर्ने निर्णय भएको हो। कार्यक्रममा हिमानी तथा पूर्वयुवराज पारस शाह, उनीहरूका छोरा हृदयेन्द्र तथा राजपरिवारका सदस्यहरू उपस्थित हुनेछन्।
पूर्वराजा ज्ञानेन्द्र र उनकी श्रीमती पूर्वरानी कोमल भने झापामा रहेकाले सहभागी हुनेछैनन्। यसैवीच, राष्ट्रिय सरोकार मञ्च नेपाल केन्द्रिय कार्यालयले दीप प्रज्वलन सफल पार्न अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ:
नेपालको गौरवशाली इतिहास बोकेको देशप्रेमी, न्यायप्रेमी प्रिय स्व। राजा वीरेन्द्र वीर विक्रम शाहदेव तथा स्व। बडा महारानी ऐश्वर्य राज्यलक्ष्मी शाहदेव सहित तत्कालीन राजपरिवारका सदस्यहरूको २०५८ साल जेष्ठ १९ गते नारायणहिटी दरबारमा भएको अकल्पनीय दुर्घटनाको सम्झनामा विगत लामो समय देखि हिमानी ट्रष्ट तथा राष्ट्रिय सरोकार मञ्च नेपाल ले नारायणहिटी राजदरबार परिसरको दक्षिण ढोकामा श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन गर्दै आएको सर्वविदितै छ। विगतका दिनहरूमा झैँ यस वर्ष पनि सोही स्थानमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहँदै गर्दा अहिलेको विभेदकारी राज्य सत्ताले विभिन्न बहाना बनाई उक्त कार्यक्रम गर्न नदिने प्रपञ्चका साथ सो स्थान वरपर निषेधआज्ञा जारी गरेको छ।
राष्ट्रिय सरोकार मञ्च नेपालले उक्त स्थानमा कार्यक्रम गर्न नदिए पनि चातुर्ब्युह नारायण मन्दिर समिपमा गर्ने भनिएको कार्यक्रमलाई पनि अहिलेको अत्यन्तै क्रुर र निर्दयी शासकहरूको दम्ब र घमण्डका कारण उक्त स्थानमा पनि ताला लगाई बन्द गरिएको अवस्था छ। सोही कारण यस वर्षको जेष्ठ १९ गतेको कार्यक्रम नारायणहिटी परिसरमा सम्पन्न गर्न हामीलाइ असहज परिस्थितिको सामना गर्नुपर्ने बाताबरण भएकोले उक्त कार्यक्रमलाई भव्यताका साथ मनाउन उपयुक्त स्थान को चयन गर्न अनवरत रूपमा प्रयासरथ थियौं।
अन्त मा भोली जेष्ठ १९ मा दरवार हत्याकाण्ड मा दिवङ्गत राज परिवारका सदस्यहरुलाई श्रद्धा सुमन चढाउन राष्ट्रिय सरोकार मन्चको आयोजनामा कमलादी गणेश स्थानमा हुन लागेको जानकारी गराउँदछौ । दिप प्रज्वोलनको समय जेठ १९ साँझ ६:३० वजे कायमै रहने छ। यसबाट राष्ट्रवादी देशभक्तहरूमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौँ। ॐ हरि। जय कर्मनिष्ठ। ॐ जय श्री शिव गोरख।



















