इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा इरानका कम्तीमा ६ जना आणविक वैज्ञानिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ । इरानी अधिकारीहरूले मृतकहरू सबै देशका अग्रणी वैज्ञानिक रहेको जानकारी दिएका छन्। सबैभन्दा चर्चित नाम फेरेयदून अब्बासी हुन्, जो इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख थिए ।
दोस्रो पहिचान भएका व्यक्ति मोहम्मद मेहदी तेहरान्ची हुन्, जो तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष थिए । अन्य तीन जना वैज्ञानिकहरूमा अब्दुलहमिद मिनुचेहर, अहमद रेजा जोल्फघारी, र अमिरहोसैन फेकी छन् । उनीहरू शाहिद बेहेस्टी विश्वविद्यालय, तेहरानका प्राध्यापक तथा अनुसन्धानकर्ता थिए ।
छैटौँ वैज्ञानिकको परिचय भने मोत्तालेबिजादेह थर मात्र सार्वजनिक गरिएको छ, पूर्ण नाम भने अझै खुलाइएको छैन । यस घटनाले इरानको आणविक कार्यक्रममाथि गम्भीर धक्का पुगेको विश्लेषण गरिएको छ। साथै, इरानले आक्रोश व्यक्त गर्दै घटनाको बदला कडा रूपमा लिने चेतावनी दिएको छ ।



















