आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश छानबिनमा तानिए

कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका छन् ।

बिहीबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशद्वय थारु र महर्जनलाई न्यायपरिषद्मा तानेको हो । अब उनीहरू नियमित न्याय परिषद्मा हाजिर हुनुपर्नेछ । उच्च अदालतका न्यायाधीशका हैसियतले मुद्दाको सुनुवाइ र न्याय निरुपणमा संलग्न हुन पाउने छैनन् ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत १४ जेठमा बम विस्फोट र ज्यान मुद्दाको आरोपबाट आलम लगायतलाई सफाइ दिएको थियो । न्यायाधीशहरू थारु र महर्जनको इजलासबाट मुद्दाको फैसला भएलगत्तै चौतर्फी आलोचना सुरु भएको थियो ।

गत मंगलबार मात्रै १८ वर्षअघिको विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राउतपुर आफैं उपस्थित भएर न्यायपरिषद्मा उजुरी दिएका थिए । त्यसअघि परिषद्‌मा अर्को उजुरी विचाराधीन थियो । परिषद्सम्बद्ध स्रोतले भन्यो, ‘बयोवृद्ध जाहेरीकर्ता नै उपस्थित भएर उजुरी दिएपछि परिस्थिति गम्भिर बन्यो, अनि दुई न्यायाधीशलाई परिषद्‌मा तान्ने निर्णय भएको हो ।’