तपाईहरुको पार्टी नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितीको बैठक केही दिन अघि यही जेठ ३१ र असार १ गते दुई दिन सम्म बसेको छ , पछिल्लो केन्द्रीय समितिको बैठकबाट के कस्ता निर्णय गर्नु भयो ?
हामीले दश बर्ष अघि २०७३ जेठ ३० गते पुराना शक्तिको विकल्पमा काठमाडौंको दशरथ रंगशालामा एकलाख भन्दा बढी जनसमुदायको उपस्थितमा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरेका थियौं । अहिले पार्टी स्थापना गरेको ९ बर्ष पुगेर दश बर्ष लागेको छ । नयाँ शक्तिकै निरन्तरतामा अहिले नेसपा (नयाँ शक्ति) पार्टी बनाएका छौ । सोही अनुरुप जेठ ३० गते दशौ पार्टी स्थापना दिवस पनि भव्य रुपमा मनायौ । त्यस पछि नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको बैठक जेठ ३१ र असार १ गते दुई दिन सम्म बस्यो । हाम्रो केन्द्रीय समितिमा ९९ जना छौ । बैठकमा केही सल्लहकार समिति र विज्ञपरिषदका साथीहरु पनि सहभागी हुनु भएको थियो । बैठकमा ६६ जना साथीहरुले आ –आफ्नो धारणा राख्नुभयो । बैठकमा पार्टी अध्यक्ष डा बाबुराम भट्टराई जो वैकल्पिक बिचार र आन्दोलनका प्रेणता पनि हुनुहुन्छ , उहाँले सबैको धारणा सुन्नुभयो । बैठकमा राखेका धारणमाथि गहन छलफल गरि त्यलाई निचोडमालादै विभिन्न ऐतिहासिक निर्णयहरु पनि गर्यौ । जस्तो कि देशमा अहिले धेरै खालका समस्या छन । भष्टाचारको समस्या छ भष्टाचारको अन्त्य नगरे सम्म सुशासन हुदैन, सुशासन नभए सम्म समृद्धी हुदैन । त्यसैले हामीले भष्टाचार विरुद्ध अभियान चलाउने , खेतीपातिको समय छ तर किसानलाई मल विउको समस्या छ । त्यसलाई उठाउने , युवाहरुले देशमा रोजगारी नपाएर वेरोजगार बनि विदेश पलायन हुनु परेको छ , यी समस्या समाधानका निम्ती सरकारलाई घचघचाउने, सबै खाले उत्पीडनका विरुद्ध लाग्ने लगायतका निर्णय गरेको छौ । यसै गरि रेमिट्यान्स कुरा छन बैकमा तरलता छ । लगानीको वातावरण छैन यी सबै विषयमा छलफल भएको छ । अन्तराष्ट्रिय विषयमा ध्यान दिदा विभिन्न देश बिच युद्ध चलिरहेको छ । यसमा असंलग्न परराष्ट्र नीति अपनाउने लगायतका छन । देशका विद्यमान समस्या समाधान गर्न वैकल्पिक शक्ति शसक्त बन्नु पर्ने हुन्छ । त्यसका निम्ती नयाँ र अग्रगामी शक्तिलाई एकठाँउमा ल्याउन पहल गर्ने लगायतका निर्णय छन ।
केही महिना पहिले सम्मपन्न यहाँहरुको पार्टीको राष्ट्रिय सम्मेलनले प्रजातान्त्रिक अभ्यास गर्ने भन्दै पार्टी भित्र आन्तरीक चुनाव गरेर पार्टीको केन्द्रीय नेतृत्व चयन गरेको थियो तर चुनामा प्रजातान्त्रीक अभ्यास गरेको बताए पनि चुनाव पछिको पहिलो बैठकमा चुनावी तुष बाँकी रहेको देखियो भन्ने खालका समाचारमा आएका थिए दोस्रो बैठकमा यो विषयमा कस्तो रहयो ?
हाम्रो पार्टी वैकल्पिक राजनीति गर्ने पार्टी हो । देशमा संघिय लोकतन्त्र स्थापना पछि देश राजनीतिक रुपमा नयाँ चरणमा प्रवेश गर्यो अब सोही अनुरुप अगाडी बढ्नु पर्दछ भन्ने हाम्रो भनाई हो । हामी नयाँ बिचार नयाँ सोच सहित आएका हौ । जसलाई पाँच ‘स’मा सुत्रबद्ध गरेका छौ । जहाँ सम्म पार्टी भित्रको आन्तरीक चुनावको कुरा छ यसमा के ख्याल गर्नु पर्दछ भने हामीले पोखराको विधान महाधिवेशनबाट जुन विधान पारीत गरेका थियौ , त्यसको राष्ट्रिय सम्मेलनमा व्यवहारीक अभ्यास गर्यौ । यस अघि पार्टीका प्रतिनिधिले मत दिएर नेता चुन्ने लोकतान्त्रिक अभ्यास हामीले गरेका थिएनौ । वैकल्पीक शक्तिका रुपमा उदाएका सबै पार्टीमा हेर्नै हो भने हाम्रो पार्टीले जुन अभ्यास गर्यो त्यो नयाँ अभ्यास हो । किनकि हामाीले समानुपातिकको सही अभ्यास गर्यो । जहाँसम्म तुषको कुरा छ । चुनावका अघि परिस्थित अनुरुप अलि अलि नयाँ कुरा त आए किनकि कतिपयलाई लागेको थियो होला म डाक्टर साबको नजिक छु माथि पुग्न सकिहाल्छु । कसैलाई लागेको थियो होला पचासौ बर्ष देखि संघर्ष गर्दै आएको छु, नेतृत्वमा आईहाल्छु, तर लोकतान्त्रिक विधिमा त्यस्तो हुदैन । कार्यकर्ताले जो सक्रिय छ, उसलाई चुन्छ । निर्वाचन अघि जे भए पनि निर्वाचनामा गए पछि नयाँ टिम आयो । स्वस्थ प्रतिस्पर्धा भयो। सबै समस्या हल भयो । सम्मेलन पछि दुईटा समुह भएन र अहिले पनि छैन, त्यसैले चुनावी तुष देखिने अवस्था रहेन ।
दश बर्ष अघि २०७३ जेठ३० गते एक लाख संस्थापक सदस्य भेला भएर स्थापना गरेको पार्टीमा दशौ पार्टी स्थापना दिवस मनाउदाँ त हजार दुई हजारमा सिमीत हुन भयो नि बैठकमा यस्को विश्लेषण गर्नु भएन ?
त्यसो होईन हामी यो पटक पनि दशौ हजार थियौ । अर्को कुरा हामीले जति बेला दशरथ रङगशालामा वैकल्पिक राजनीति गर्ने भनेर पार्टी स्थापना गरेका थियौं । त्यो बेला एक लाख भन्दा बढीको उपस्थिति रहेको थियो । पार्टी स्थापना गर्दा विभिन्न दल, पूर्व कर्मचारी, स्वतन्त्र व्यक्तित्वहरु र विविध क्षेत्रका व्यक्तित्वहरु सहभागी हुनुभएको थियो । त्यो बेला हाम्रो मार्गदर्शक सिद्धान्त बाम लोकतान्त्रिक भन्ने थियो । जसमा कम्युनिष्ट बिचार बोकेका र डेमोक्रायटिक बिचार बोकेका सबै अटाउने खालको बाम लोकतान्त्रीक शक्ति भन्यो । यसमा धेरै जना सामेल हुनुभयो । यहाँहरुलाई भनिरहनु परेन । डा.बाबुराम भट्टराईको देशमा गणतन्त्र ल्याउन ठुलो त्याग तपस्या र बलिदान छ । यस्तो व्यीक्तत्वले नयाँ बनाउने भनेर शून्यबाट सुरु गर्नुभयो । सुरुमा त्यसमा सबै जोडिए तर पछि छाटिदै गए । जहाँसम्म सदस्य संख्याको कुरा छ, सायद त्यस बेला भन्दा कम हुनसक्छ । तर यो बिचमा हामीले बैचारिक पाटो निकै मजबुत बनाएका छौ । बिचार र दृष्टीकोण सही भयो भने पार्टी सदस्य बढ्न समय लाग्दैन । हामीले धेरै उतार चडाव व्यहोर्दै, बैचारिक सांगठनिक र कार्यक्रमिक रुपले आफुलाई खारेका छौ । यो धेरै अब्बल छ । अब हाम्रो पार्टी बढ्दै जान्छ । जे उदेश्य सहित पार्टी स्थापना गरेका थियौ त्यो पुरा गरेरै छाड्छौ यो बिचमा अन्य पार्टीहरुसगँ एकता गरेर हामीले रुपान्तरको निम्ती जुन प्रयास गर्याे त्यो प्रयास सोचे जसरी सफल भएनन ।अहिले थोरै होईन त्यस बेला सबै थिए अहिले बुझेका खारीएका छन । अहिलेको टिम झिल्को हो ,यो झिल्कोले स्थापनाको उदेश्य पुरा गर्दछ ।
कन्द्रीय समितीका निर्णयको कुरा गर्दा अलि अमुर्त र बढी नीतिगत देखिन्छन मुर्त र कार्यक्रमिक निर्णय गर्नु भएन ?
पार्टी हेर्ने समग्र देशको परिस्थीति हो । त्यसैले हामीले नीतिगत निर्णय नै गरेका हौ । व्यवहारमा जाँदा जनताका जनजीविका कुरा उठाएर, जनताका समस्या उठाएर नै जान्छौ । यो बिचमा बैकल्पिक शक्तिहरुसंग सहकार्यको निम्ती पनि पहल गर्दछौ । यहाँले देखि सक्नु भयो, हामीले दशौ पार्टी स्थापना दिवस मनाउदा पनि पुराना शक्तिलाई निम्ता दिएनौ । नयाँ र बैकल्पिकलाई मात्र निम्ता दियौ । हो विप्लव नेतृत्वको नेकपा र नेकपा एकिकृत समाजवादीका घनश्याम भुसालाई पनि निम्ता दियौ ,यसबारे पनि केन्द्रिय समितिको बैठकमा कुराहरु उठे । विप्लव नेतृत्वको नेकपा र नेकपा एकिकृत समाजवादी पार्टी हाम्रो पार्टी भन्दा पछि स्थापना भएका पार्टीहरु हुन उहाँहरुको बैकल्पिक रानजनीतिबारे धारणा के छ भनेर बुझ्न पनि हामीले उहाँहरुलाई निम्ता दिएका थियौ । उहाँहरुले पनि पुराना शक्तिबाट हुदैन । देशमा बैकल्पिक शक्ति चाहिन्छ भनेर जसरी प्रष्ट कुरा राख्नुभयो त्यो असाध्यै राम्रो छ ।
यहाँहरुले बैकल्पिक शक्ति एक ठाउँमा हुनुपर्दछ भन्दै यसको पहल गर्ने जिम्मा डा.बाबुराम भट्टराईलाई दिन्ुभएको थियो अहिले त्यसमा के हुदैछ ?
हाम्रो भनाई बैकल्पिक भन्ने पार्टी , व्यक्ति , समुह सबै मिलेर जानु पर्दछ भन्ने हो । बैकल्पिक भन्ने भित्र पनि केही समस्या छन कतिपयका नीति बिचार प्रष्ट छैनन , अर्काे तर्फ अहिले हामी सत्ता र सरकारमा छैनौ । हामीले देश र जनतालाई शिरमा राखेर समृद्ध देश बनाउने भनेर हिडिरहेका छौ, तर जनता अलि शक्तिको पछि लागेको हो कि जस्तो पनि दखिन्छ । हामीसंग भन्दा बावुराम भट्राई ठिक छन, उनी देशलाई चाहिने मान्छे हुन भन्ने तर चुनावमा भोट पुरानै शक्तिललाई दिने परिस्थिति छ । यसलाई समेत मध्यनजर गर्दै नयाँ र बैकल्पिक शक्तिलाई एक ठाँउ गोलबन्द गर्नु पर्दछ भनेर भन्दै आएका छौ । यसको पहल गर्ने जिम्मा पनि पछिल्लो केन्द्रीय समितीको बैठकबाट डा.बाबुराम भट्टराइलार्ई दिएका छौ । उहाँले पहल गरिरहनुभए कै छ ।
बैकल्पिक शक्तिको मोर्चा बनाउनुहुन्छ कि पार्टी एकता नै गर्नुहुन्छ छलफल कसरी अगाडी बढ्दै छ ?
अहिले नै एकता गर्नेमा हामी छैनौ । अझै चुनाब आउन धेरै समय छ । पाँच, छ महिनाकै समयमा पनि धेरै उथल पुथल गर्न सकिन्छ भन्ने त रास्वपाले नै देखायौ । २०८४को चुनाब सम्म हामी बैकल्पिक भन्ने शक्तिहरु हस्तक्षेपकारी शक्ति बन्दछौ । अहिले बैकल्पिक शक्ति धेरै छन तर अलग अलग हँुदा उदेश्य पुरा भएको छैन र अब पनि हुदैन । यो कुरा अरुले पनि बुझ्दै आउनु होला । बुझ्दै आउनुभएको पनि छ । देशलार्ई जरजर अवस्थाबाट निकास दिन बैकल्पिक शक्ति एक ठाँउ आउनै पर्दछ । सोही भावसाथ छलफल भईरहेको छ ।
२०८४ सम्म बैकल्पिक शक्तिहरु एक ठाउँमा हुनुपर्दछ र त्यसको पहल गरिरहेको बताउनुभयो यो बिचार ऐजेण्डा मिलेर हो कि अब एक्लै नसकिने भयो कतै मिल्नु पर्दछ भनेर हो ?
यसमा एउटा त वैकल्पिक भन्नेहरु अलग अलग बसेर मत विभाजीत गर्नुहुन्न भन्ने हो अर्काे बिचार मिल्यो ऐजेण्डा मिल्यो भने त पार्टी एकता नै हुन सक्छ । यी सबै विषयमा छलफल हुदै जाला । जहाँ सम्म एक्लै सक्ने नसक्ने कुरा छ , जनता समस्या उठाँउने कुरा र देशका तमाम समस्या हल गरेर देशलाई समृद्धी तर्फलान अलि हस्तक्षेपकारी शक्ति चाहिन्छ । बैकल्पिक शक्तिहरु अलग हँुदा वा हामी एक्लै हुँदा तत्काल त्यो सम्भावना नहुन सक्छ । त्यसैले सबै बैकल्पिक शक्तिहरुलाई एक ठाँउ जोडेमात्र यो सम्भव हुन्छ भनेर पनि हामाीले पहल गर्ने भनेका हौ ।
विगतमा बाबुराम भट्टराईले समाजवादी केन्द्र भन्नुभयो तर त्यो बन्दा बाबुराम भट्टराई नै छुट्नुभयो अब पनि कतै बैकल्पि शक्तिको मार्चा बन्ने बाबुराम छुट्ने त हुदैन ?
यहाँले ठिकै प्रश्न उठाउनुभयो । बैकल्पिक राजनीतिको त बाबुराम भट्टराई पिता हुनुहुन्छ । त्यस्तै अहिले जुन समाजवाद भन्दछन, यो पनि सबै भन्दा पहिला बाबुरामले भन्नुभएको हो ।नेपालका समकालीन नेताहरुमा बाबुराम भिजनकारी नेता हुनुहुन्छ । उहाँले उठाउने अरु ठुला हौ भन्नेले मेरो भन्दै व्ग्यवहारीक अभ्यास गर्ने गरेको पनि देखिन्छ । जहाँ सम्म समाजवादी मोर्चाको कुरा छ, त्यो बिचार सहित भन्दा संसदको गणितीय खेलमा सांसदको संख्या देखाउने उदेश्य सहित बनेकोले हामी नबसेका हौ । हामीले जस्तो समाजवादी मोर्चा भनेका थियौ , त्यस्तो नभए पछि हामी सामेल भएनौ । यहाँलाई भनिरहनु परेन संविधानमा समाजवाद उन्मुख भनेर लेख्ने पनि डा.बाबुराम भट्टाई नै हो, न कि प्रचण्ड, शेर बहादुर देउवा वा केपी ओली । त्यसैगरी हामीले न कम्युनिष्टले भने जस्तो राज्य केन्द्रीत समाजवाद भन्छांै न त पुँजीवादी व्यवस्थाले भने जस्तो खुल्ला अर्थतन्त्र भएको समाजवाद भन्छौं । हामीले त दुवैमा भएका कमजोर पक्षलाई हटाएर राम्रा पक्षलाई लिर्दै नयाँ दर्शन सिर्जना गरेर अगाडि बढ्नु पर्दछ भनेका छौं । जसलाई हाम्रो भाषामा सम्मुन्त समाजवाद भनेका छौं । यो नभए पछि हामी बसेनौ ।
अब भावी दिनमा कसरी अगाडी बढ्नुहुन्छ ?
हामी नयाँ सोच र भिजन सहित आएको बैकल्पिक शक्ति हौ । अब पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पुर्ण समानुपातीक निर्वाचन प्रणाली हुनुपर्ने, देशलाई सम्वृद्धिमा लैजान पाँच “स”को रोडम्याप अगाडि ल्याएका छन् त्यसलाई आधार मानेर अगाडी बढ्छौं । त्यसैगरी हालै बसेको केन्द्रीय समितीको बैठकले गरेका निर्णय जस्तो कि भष्टाचारको अन्त्यका निम्ती भष्टाचार विरुद्ध अभियान चाउने ,जनलोकपाल बनाउनु पर्ने जस्ता विषय छन । प्रधानमन्त्री देखि सबैलाई छानविन गर्न सक्नो जनलोकपाल गठन गर्नुपर्ने, किसानका मल बिउका समस्या समाधान गर्न दवाब दिने, युवाहरुले रोजगारी नपाएर बेरोजगार छन यो समस्या समाधानका निम्ती सरकारलाई घचघचाउने । सहित सबै खाले उत्पिडनका बिरुद्ध लाग्ने , असंलग्न परराष्ट्र नीति अपनाउने लगायतका छन । बैठकमा यी सबै विषयमा छलफल भएको छ । समस्या समाधान गर्न बैकल्पिक शक्ति शशक्त बन्नु पर्ने छ ।यसका निम्ती नयाँ र अग्रगामी शक्तिलाई एकठाँउ ल्याउन पहल गर्ने पार्टीको संगठनको योजना अनुरुप काम गर्ने गर्दछौ । हामी सदन र सरकारमा त छैनौ त्यसैले सडकबाटै जनताका आवाज बुलुन्द पार्दछौ ।
सरकारका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ ?
सरकारका गतिविधि त छर्लङगै छन । सरकारले कुनै जनमुखी र गतीला काम गरेको छैन । अहिले दुईटा ठुला शक्तिको संयुक्त सरकार छ । उहाँहरुले दुई तिहाईको सरकार भन्नुहुन्छ तर देशमा न शुसासन छ , न रोजगारी छ । महंगी बढेको बढै छ । जनताले त्यो सबै देखे भोगेकै छन । अहिले बजेट ल्याउँदा पनि जनताको आश्यकता भन्दा नेताका खोल्तीका योजनामा बजेट छुट्टाईएको छ । मैले धेरै निरासा बाढ्न खोजेको पनि होईन यो व्यवस्था नै यस्तो छ जो सरकारमा गए पनि गर्ने यस्तै हो । त्यसैले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पुर्ण समानुपातीक संसद बनाऔ संसदले नीति निमार्ण गर्ने विज्ञहरु भएको सरकार बनाउने त्यसलै जनताका काम गर्ने भयो भने बल्ल राम्रो हुन्छ । यसको निम्ती शासकीय स्वरुपमै परिवर्तन गर्नुपर्दछ ।
अन्त्यमा ?
अन्त्यमा म के भन्न चाहन्छु भने म पेशाले कानुन व्यवसायी पनि हु । विभिन्न मुद्धा मामिला हेर्दा पनि के लाग्दछ भने अब पुरानो ढर्राबाट देशलाई निकास दिन सकिदैन । देशलाई निकास दिन बैकल्पिक शक्ति सशक्त बन्नुपर्ने हुन्छ । यसका निम्ती नयाँ र अग्रगामी शक्तिलाई एकठाँउ ल्याउन पहल गर्नु पर्दछ । नेसपा (नयाँ शक्ति)को नेतृत्व विद्धान निश्कलंक व्यक्ति पनि हुनुहुन्छ । म देश विदेशमा रहनुभएका सम्मपुर्ण युवा सहित सबै जनामा बाबुराम भट्टराईले उठाउनुभएको बिचार र यात्रामा साथ सहयोग दिन अनुरोध गर्दछु ।

















