ऐतिहासिक श्री पशुपति कोटिहोम २०८१ र ऐतिहासिक श्री गण्डकी कोटिहोम २०८२ का सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसक्नुभएका यज्ञ-शिरोमणि बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज एक वरिष्ठ समाजसेवी समेत हुनुहुन्छ। अब चाँडै नै यज्ञशिरोमणिज्यूको संकल्पमा आम सनातनीहरूका आराध्य देव भनेर चिनिएका भगवान श्री पशुपतिनाथको प्राङ्गणमा अर्को महिना अर्थात् २०८२ साल श्रावण १ गतेदेखि भाद्र १५ गतेसम्म लगातार चल्ने “महायज्ञ” हुने भएको छ । यस महायज्ञमा पनि दशौँ लाख भक्तजनहरुको उपस्थिति हुने अपेक्षा गरिएको छ। बालयोगेश्वर महाराजश्रीलाई अग्रिम हार्दिक बधाई तथा शुभकामना।
अत्यन्तै दिलदार व्यक्तित्वका रुपमा चिनिनु भएका उहाँलाई नेपाल सरकारले यज्ञशिरोमणि भनेर स्वीकार गरिसकेको छ। यसको प्रमाणका लागि अग्निचक्र मासिक २०८१ फागुन अङ्क, २०८१ चैत अङ्क, २०८२ वैशाख अङ्क र २०८२ जेठ अङ्क पढ्नुपर्ने हुन्छ। जसमा वर्तमान प्रधानमन्त्री र वर्तमान प्रतिनिधिसभाका सभामुखज्यूको आधिकारिक शुभकामना सन्देश प्रकाशित छ । नेपालको इतिहासमा सय कुण्डीय गायत्री कोटिहोम जस्तो महान, ऐतिहासिक, धार्मिक अनुष्ठान सम्पन्न गराउने विजयश्री कृष्णमूर्ति जी महाराज एकमात्र महायज्ञ संकल्पकर्ता भएको हुनाले उहाँलाई देखेर छक्क पर्ने भक्तजनहरू झन्डै झन्डै करोडको सङ्ख्यामा भएको कुरा धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले बताउन थालेका छन्।
समाजसेवा, अध्यात्म र मानवताका क्षेत्रमा अपूर्व योगदान पुर्याउँदै आउनुभएका महान व्यक्तित्व बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज एक अद्वितीय प्रेरणाका स्रोत हुनुहुन्छ। विगत १५ वर्षभन्दा बढी समयदेखि उहाँले नेपालमा समाजसेवा, धार्मिक चेतना जागरण, शिक्षा, स्वास्थ्य र परोपकारी कार्य मार्फत हजारौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुभएको छ। बहुमुखी प्रतिभाका धनी भनेर पनि बालयोगेश्वरज्यूलाई चिन्ने गरिएको छ। नेपालको सुन्दर पर्यटकीय नगरी पोखराको बिरौटामा ऐतिहासिक श्री गण्डकी कोटिहोम सफलतापूर्वक सम्पन्न गरेपछि उहाँलाई विश्वभर रहेका सनातनीहरूले राम्रोसँग एक अवतारी महाराजको रुपमा चिनेर सोहि अनुसार व्याख्या गर्न थालेको पाइन्छ । कतिपय भक्तजनहरूले त उहाँलाई कलियुगको कृष्ण भगवान पनि भन्न थालेको कुरा पोखराका भक्तजनहरुले आजकाल बताउँदै, हिँड्दै गरेको कुरा सुन्न पाइन्छ।
असहाय, बेसहारा र पीडित वर्गको सेवामा समर्पित बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले समाज सेवामा समर्पित दर्जनौं सामाजिक संस्थाहरू सञ्चालन गर्दै आउनुभएको छ। उहाँको अगुवाइमा सञ्चालित मानव सेवा फाउन्डेसन, नेपाल लगायतका संस्थाहरूले हजारौं विपन्न तथा असहाय व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, खाद्य, आवास तथा आत्मनिर्भरताको अवसर प्रदान गरिरहेका छन्। उहाँको निष्ठा, लगनशीलता र सेवाभाव अद्वितीय छ। समाजको समुन्नतिका लागि उहाँले अनेक अग्रगामी कार्यहरू गर्नुभएको छ। सामुदायिक विद्यालय तथा शिक्षालयहरूको निर्माण, आश्रमहरूको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण जस्ता क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ।
नेपालभर आयोजना गरिएका आध्यात्मिक प्रवचन, धार्मिक अनुष्ठान तथा कोटिहोम महायज्ञहरूबाट संकलित दान रकमबाट समाजसेवाका विभिन्न क्षेत्रमा योगदान दिँदै उहाँले हजारौं असहायहरुलाई जीवनको नयाँ किरण प्रदान गर्नुभएको छ। धर्म, संस्कृति र परोपकारी कार्यहरूको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ भन्ने दर्शनमा आधारित उहाँका गतिविधिहरु नेपालभर चर्चा एवं प्रशंसायोग्य छन्। उहाँ एक कुशल आध्यात्मिक मार्गदर्शक, प्रेरणादायी वक्ता तथा मानव कल्याणका संरक्षक हुनुहुन्छ। उहाँका प्रवचनहरूले लाखौं मानिसलाई धर्म, नैतिकता, परोपकार तथा समाजसेवाको मार्गमा अघि बढ्न प्रेरित गरेका छन्।
उहाँको अथक परिश्रम, त्याग र समर्पणका कारण नेपालका सीमान्तकृत तथा वञ्चित वर्गका व्यक्तिहरूले नयाँ जीवन पाएका छन्। समाजमा शान्ति, भाइचारा, धार्मिक सहिष्णुता तथा समानताको प्रवर्द्धन गर्न उहाँको भूमिकाले एक नयाँ युगको सूत्रपात गरेको छ। उहाँको योगदान इतिहासका पानाहरुमा सुनौलो अक्षरले लेखिन योग्य छन् ।


विजयश्री कृष्णमूर्ति जी महाराजज्यूबाट सञ्चालित एवं समाजसेवामा समर्पित सामाजिक संस्थाहरू :
१) श्री विजय कृष्णमूर्ति जी महाराज फाउन्डेसन, नेपाल, काठमाडौँ ।
२) श्री मानव सेवा फाउन्डेसन, नेपाल काठमाडौँ।
३) श्री मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल, ललितपुर ।
४) श्री छोरीको घर जेष्ठ नागरिक आश्रम, भक्तपुर ।
५) श्री हिन्दू सेना, नेपाल, काठमाडौँ ।
६) श्री डोनेट फर नेपाल, काठमाडौँ ।
७) श्री मामाघर परोपकार तथा सेवा आश्रम, ललितपुर ।
८) श्री माइतीघर जेष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र नेपाल, काठमाडौँ ।
९) श्री पञ्चकन्या धाम एवं गाईघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, नेपाल, तनहुँ ।
१०) वैश्विक स्रष्टा सम्मान संस्था तथा राष्ट्रसेवा फाउन्डेसन, नेपाल, काठमाडौँ ।
११) सो धर्म परिवार, नेपाल, काठमाडौँ ।
(यो जानकारी हालै प्रकाशित “अग्निचक्र राष्ट्रिय मासिक”- २०८२ ‘असार अङ्क’बाट लिइएको हो र यसलाई प्रमुख स्थान दिएर बाहिरी कभर पेज मै अग्निचक्रले राखेको पाइएको छ।) ।।


















