वर्षासँगै बाढी, पहिरो जस्ता विपद्को जोखिम बढ्न थालेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुली जाने सडकखण्डमा एक महिनाका लागि सवारी आवागमन निषेध गर्ने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले उक्त सडकखण्डमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरूलाई आज साँझ ६ : ३० बजेदेखि बिहान ५ बजेसम्मको समय अवधिका लागि पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। उक्त निषेधाज्ञा एक महिनासम्म लागू हुने जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा विपद्को जोखिम न्यूनीकरण र यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना प्रकाशन गर्दै सम्बन्धित सबै पक्षलाई समयमै जानकारी लिन र वैकल्पिक योजना बनाउन आग्रह गरेको छ।



















