–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
आज श्रावण २४, २०८२ रक्षा बन्धन, क्वाँटी र जनै लगाउने पर्व विशेष दिन । मन्त्रिएको जनै, अनि रक्षा धागो लगाउने दिन । जनै भने तागाधारीहरुले मात्रै लगाउछँन् ।
रक्षा बन्धनको मन्त्रः
येनबद्धो बलीराजा दानवेन्द्रो महाबलः । तेन मन्त्रेण बध्नामि रक्षेमा चल मा चल ।।
यस्तो सुरक्षा कबच्को तयारी श्रावण शुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेकाले पनि यस पूर्णिमालाई लागि रक्षाकबच्को रुपमा लिन थालिएको हो । गुरु वृहस्पतिबाट मन्त्रणा गरी इन्द्रायणीले देवेन्द्रलाई सुरक्षा कवच्को रुपमा नारीमा धारण गराउँदा राजा इन्द्र सुरक्षित भएका हुन् ।
श्रावण शुक्लपूर्णिमामा पर्ने जनै पूर्णिमाको कार्य भने पुरुषोत्तम मास बा ग्रहणको समय पर्न गए भाद्रशुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ । ऋषितर्पणीका नामले चिनिने जनैपूर्णिमा ऋषितर्पणका हिसाबले हिन्दु र कामाशक्ति माथि विजय प्राप्त गरेका हिसाबले बुद्धमार्गीहरुका लागि विशेष दिन हो । यसैदिन गौतम बुद्धले आफ्नो कामेच्छामाथि विजय प्राप्त गरेका थिए त्यसैले बौद्धमार्गीहरु यस विशेष प्यारो दिनमा बौद्ध तीर्थस्थलहरुमा जाने गर्छन् । दानवराज बलीबाट स्वर्गका देवताहरुलाई स्वर्ग हस्तान्तरण गराइएको विजयको दिन स्वरुप पनि यस दिनलाई विशेष स्मरण गर्ने गरिन्छ । ब्राह्मणहरुबाट हातमा रक्षाकबच रक्षाबन्धन बाँध्ने चलन यसैले भएको हो । साथै आफ्ना यजमानहरु राजा बली जस्तै दानवीर र बचनका पक्की हुन् भनी गुरुपुरोहितहरुले विशेष आशीर्वाद दिने गर्छन् । जनैपूर्णिमाका दिन खासगरी ९ थरिका गेडागुडीहरु मिलाएर क्वाँटी खाने चलन छ । स्वास्थ्यवर्धक विशेष खाना मास, मुँग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषकतत्व एकैठाउँमा मिसाई भिजाई टुसा उमारी तयार पारेको क्वाँटीलाई विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्ने हुँदा यसदिन विशेष क्वाँटी खाने चलन चलेको हो । कृषिप्रधान मुलुक हाम्रा लागि विशेषगरी वर्षायाममा खेतबारीमा रुझीभिजी किसानी कार्य गर्नुपर्ने हुँदा यसऋतुभरि र नजिकै अर्काे शारदीय चिसो ऋतु सुरु हुनेहुँदा स्वास्थ्यरक्षा, स्वास्थ्यवर्धन गरी शारीरिक तन्दुरुस्तीका लागि तयार रहन वैज्ञानिक सन्देश समेत दिएको पुष्टि हुन्छ ।
अर्काेकुरा श्रावणमा घण्टाकर्ण पर्व मान्ने पनि चलन छ । अघि घण्टाकर्ण भन्ने बलियो ठूलो राक्षसले किसानकार्य गर्ने मानिसहरुलाई दुःख दिने गरेको, कसैले उसलाई हराउन, मार्न नसकेको तर नपत्याउँदो एउटा सानो भ्यागुतोले उसलाई मारेको उसको बहादुरी बलको कदर गर्दै यसैदिन भ्यागुतोको विशेष पूजा गर्ने उसलाई खाना खुवाउने चलन प्रायः नेवारी संस्कृतिमा अझै पनि देखिन्छ । भ्यागुतोको पराक्रम स्मरण गर्ने, उसलाई इन्द्रको रुपमा सम्मान गरी पूजा गर्ने, खाना खुवाउने चलन रहेको छ । अझैसम्म पनि भ्यागुतोले ट्वारट्वार आवाज निकाल्दा स्वर्गका देवताले पृथ्वीमा वर्षा गराउने भन्ने आहान रहेको छ । पानी जीवन हो, पानीको स्रोत वर्षाकै कारण जीवनका लागि, खेती व्यवसायका लागि अत्यावश्यक नै हो । त्यस्तै किसानी कार्य गर्दा, खनजोत कार्य गर्दा, कीरा, फट्याङ्ग्राहरु मर्न सक्ने, सर्प, भ्यागुता आदि जीवहरु मर्न सक्ने हुँदा त्यसको दोष निवारण गर्न भ्यागुतालाई खोजेर ल्याई किसानहरुले घरमा पूजा गरी खाना खुवाई प्रायश्चित गर्ने समेत गर्ने गर्छन् । नेवारी भाषामा भ्यागुतालाई ‘ब्याँचा’ भनिने र भ्यागुतालाई खाना खुवाउने भएकाले यसदिनलाई ‘ब्याँचा नकेगु पुन्ही’ भन्ने गरेको पनि पाइन्छ । धर्म, संस्कृतिको, सभ्यता र संस्कारको बेजोड नमूनाको रुपमा रहेका नेपालीहरुका लागि जनैपूर्णिमा चाड वर्षभरिकै विशेष र उत्कृष्ट पर्वको रुपमा रहेको छ ।
हाम्रो मुलुकमा यसदिन खासगरी शिवमन्दिरहरुमा विशेष पर्वमेला लाग्ने गर्छ । पशुपतिक्षेत्र, गोसाइँकुण्ड, कुम्भेश्वर आदि विशेष स्थानहरुमा बिहानैदेखि स्नान गर्ने, यज्ञोपवीत धारण गर्नेहरुको विशेष चहलपहल नै हुन्छ, घर घरमा त हुन्छ नै । पूजा गर्दा ॐ कार, अग्नि, सोम, पितृ, प्रजापति, यम, विश्वेदेव आदिको आह्वाहन गरिन्छ भने जनै ग्रन्थीमा ॐ कै प्रतीक ब्रह्मा, विष्णु, शिव तीन शक्ति र गायत्रीसहित आह्वाहन गरी ब्रह्मसूत्र ब्रह्मतेजको रुपमा सब्य पारी धारण गरिन्छ । यसरी धारण गरिएको जनै आवश्यकता अनुसार पितृकार्यमा अपसव्य गरेर पितृ कार्य गरिन्छ भने देवकार्य लगायत अरु जुनसुकै बेलामा पनि जनै सव्य नै हुन्छ । सब्य भन्नाले देब्रे काँधमा अड्याएर दायाँतिर काखीमुनि फर्काएर लगाउनु हो भने दायाँ काँधमा अड्याएर देब्रे काखीमुनि पारिनु अपसब्य हो । शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ किनकि कान शरीरको तीर्थस्थान हो । आशौच –जन्म, मृत्यु पछि ग्रहण –चन्द्र, सूर्य पछि, प्रत्येक चार महिनापछि नववर्ष, विशेष देवपितृ कार्यमा नयाँ जनै लगाउनु पर्ने हुन्छ ा तागाधारीहरुलाई जनैबाट अलग राख्नु भनेको उसको ब्रह्मतेज समाप्त गरी तेजोबध गर्नु नै हो । गायत्री मन्त्र पनि हिजोआज निरस हुँदैछ, बढी सार्वजनिक हुँदा, गोपनीय विषयहरु गुप्त नै रहँदा बढी मूल्यवान हुन्छ । पारदर्शिताको नाममा छ्याँग मात्र हुने हो नाँगो हुने होइन ।


















