जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।

त्यस्तै बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।