काठमाडौँ, ललितपुर र भक्तपुरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

काठमाडौँ । काठमाडौँ, ललितपुर र भक्तपुरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी भएको छ।
काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कफ्र्यु लागेको हो । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कफ्र्यु आदेश जारी गरिएको हो।

आदेश जारी भएको सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी सूचनामा उल्लेख छ ।
काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कफ्र्यु आदेश लागु हुनेछ ।

कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूको सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

भक्तपुरमा अनिश्चितकालीन कफ्र्यु आदेश

भक्तपुर । भक्तपुरमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कफ्र्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कफ्र्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुर एक सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको जनाएको हो ।

ललितपुरको विभिन्न स्थानमा कफ्र्यु

ललितपुर जिल्ला प्रशासनले जेनजी आन्दोलनलाई मध्यनजर गर्दै मंगलबार बिहान कफ्र्यु आदेश जारी गरेको छ।
कफ्र्यु आदेश स्थानीय प्रशासन ऐन, २०८८ अन्तर्गत बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि जारी गरिएको हो।
ललितपुर महानगरपालिकाका केही वडामा आवतजावत, भेला, जुलुस, प्रदर्शन गर्न रोक लगाइएको छ।
काठमाडौँ । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कफ्र्यु आदेश जारी गरेको छ । बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कफ्र्यु लगाइएको हो ।


ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कफ्र्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।