जेन-जी आन्दोलनपछि केन्द्रीय कार्यालयको अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ । जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।

जेन-जी आन्दोलनको क्रममा पेरिसडाँडास्थित उक्त कार्यालय भवन आगजनी गरेर ध्वस्त पारिएको थियो । आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने बताए । केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’

पार्टी कार्यालय कहाँ बनाउने भन्ने कुरा उनले खुलाएका छैनन् । अवलोकनपछि दाहालले पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताए । ती सामग्री जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए ।

जेन-जीका नाममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवास पनि जलाएर ध्वस्त बनाइएको छ । यद्यपि उक्त निवास निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो । उता चितवनमा नवनिर्मित निवास पनि जेन-जीका नाममा जलाएर खरानी बनाइएको छ ।