सुडानको आरएसएफ मिलिसियाले एल फाशेर अस्पतालमा ४६० जनाको हत्या गर्‍यो : डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले रैपिड सपोर्ट फोर्सेस मिलिसियाले सुडानी सहर कब्जा गरेको केही दिनपछि एल–फाशेरको मुख्य अस्पतालमा सयौँ सर्वसाधारणको हत्या गरेको बताएका छन् । अस्पतालमा ४६० जनाको हत्या भएको खबरले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सी स्तब्ध भएको सो सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् । यसअघि सुडान डाक्टर्स नेटवर्कले मङ्गलवार आरएसएफ लडाकुहरूले साउदी अस्पताल भित्र भेटिएका सबैलाई निर्मित तरिकाले हत्या गरेको बताएको थियो ।

हत्या हुनेमा अस्पतालका बिरामी, बिरामीका साथीभाइ र उपस्थित अरू मानिसहरू भएको बताइएको छ । सुडान डाक्टर्स नेटवर्कले चाहिँ हताहत हुनेको तथ्याङ्क दिएको छैन । तर सहरमा रहेका चिकित्सा केन्द्रहरूलाई मानव वधशालामा परिणत गरिएको बताइएको छ ।

सुडान डाक्टर्स नेटवर्कले आरएसएफलाई चार डाक्टर, एक फार्मासिस्ट र एक नर्स सहित ६ जना चिकित्सकलाई अपहरण गरेको र उनीहरूको रिहाइका लागि १ लाख ५० हजार अमेरिकी डलर फिरौती मागेको आरोप पनि लगाएको छ । यो सहर डार्फर क्षेत्रमा सेनाको अन्तिम गढ थियो । भोकमरी र भारी बमबारी ग्रसित यो सहरलाई १८ महिनाको घेराबन्दी पछि आइतबार आरएसएफले कब्जामा लिएको थियो ।