इन्डोनेशियाको जावा द्विपमा रहेको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट भएको छ । विष्फोट बिहीबार दिउँसो करिब २ः१३ तिर भएको हो । योसँगै त्यहाँको ज्वालामुखी निगरानी एजेन्सीले अलर्टलाई सबैभन्दा उच्च स्तर आईभीमा राखेको छ । विष्फोट भएको केन्द्रबाट ८ किमिसम्मलाई खतराको क्षेत्र भनिएको छ ।
विस्फोटपछि तातो लाभा र खरानीको शक्तिशाली पाइरोक्लास्टिक प्रवाह निस्किएको र यसले अनुगमन उपकरणहरू नष्ट गरेको बताइएको छ । खरानीको वर्षाले वरपरको क्षेत्रलाई अँध्यारो बनाएको र ९०० भन्दा बढी मानिसहरूलाई ठाउँ छाड्न बाध्य पारेको पनि बताइएको छ ।
विष्फोटपछि १७० अलपत्र पर्वतारोहीहरूलाई उद्धार गरिएको छ । अहिलेसम्म यस घटनासँग सम्बन्धित कुनै मृत्युको खबर आएको छैन । तर अधिकारीहरूले लाभा प्रवाह र ठुलो विस्फोटका कारण थप खतराहरूको चेतावनी दिइरहेका छन् । खरानीको कारणले नजिकैको हवाई उडानहरू पनि अवरुद्ध भइरहेको छ ।
माउन्ट सेमेरु इन्डोनेसियाको एउटा सक्रिय ज्वालामुखी हो, जुन पूर्वी जाभाको लुमाजाङ जिल्लामा अवस्थित छ । यो ज्वालामुखी पहिले पनि धेरै पटक विस्फोट भइसकेको छ । तर बिहीबारको विस्फोट निकै शक्तिशाली भएको बताइएको छ । ज्वालामुखीबाट धुवाँ, खरानी र तातो चट्टानको बादल निस्किएपछि एजेन्सीले सतर्कता बढाएको छ ।



















