चुनावी सरकारका तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले मन्त्री पद नत्यागी चुनाव लड्ने घोषणा गर्नु लोकतान्त्रिक मूल्य र नैतिकताको गम्भीर हनन हो। मन्त्री पदलाई व्यक्तिगत सुरक्षा कवच बनाएर प्रतिस्पर्धात्मक प्रक्रियामा उत्रिन खोज्नु सत्ता कब्जाको योजनाबद्ध प्रयास हो, जसले देशलाई पुनः अस्थिरताको चक्रमा फसाउने स्पष्ट संकेत दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने स्वीकारोक्ति दिएकी छन्। यस अभिव्यक्तिले वर्तमान सरकार जनताको म्यान्डेटमा होइन, एक व्यक्तिको उपस्थिति र शक्ति संरचनामा बन्धक बनेर टिकिरहेको छ भन्ने तथ्यलाई स्वतः प्रमाणित गरिदिएको छ। त्यही व्यक्तिलाई मन्त्री पदमै राखेर चुनावमा पठाउने निर्णयले सरकार सत्ता कु बाट बनेको हो भन्ने आरोप अब आरोप मात्र रहेन प्रमाणमा रूपान्तरित भइसकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारका मुद्दाहरू र ४३ करोड रुपैयाँको राष्ट्रिय क्षति हुनेगरी कमिसन लिएर भारतसँग गरिएको विद्युत् सम्झौतासम्बन्धी तथ्य उजागर भइसकेपछि कुलमान घिसिङको पदमा बसिरहनु कर्तुत ढाकछोप गर्ने प्रयास बाहेक केही होइन। पद छोड्ने बित्तिकै कानुनी प्रक्रिया सक्रिय हुन्छ भन्ने भयरहित राजनीतिलाई उनले अस्वीकार गरेका छन्। उनी मन्त्री पदमै टाँसिन चाहनु स्वयं भ्रष्टाचार र सत्ता दुरुपयोगको स्वीकारोक्ति हो।
मन्त्रीमै रहँदै चुनावमा जाने उनको दाबीले जेन्जी मुभमेन्टले निरन्तर उठाउँदै आएको सत्ता कब्जाको आरोपलाई स्पष्ट रूपमा पुष्टि गरिदिएको छ। जेन्जी विद्रोहका मागहरू सम्बोधन नगरी युवाहरूको बलिदानलाई बेवास्ता गर्ने र “देशलाई निर्वाचनमा लैजान्छु” भन्ने नाममा सत्ता लम्ब्याउने प्रयास अब सरकारको वास्तविक चरित्र बनेरआएको छ।
सुशीला कार्कीले जेन्जी विद्रोहलाई अपहरण गरेर सत्ता कु गर्दै बनाएको सरकारको नैतिक र राजनीतिक वैधतासमाप्त भइसकेको छ।
यी सबै तथ्य र परिस्थितिका आधारमा कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्नु लोकतन्त्र, नैतिकता र न्यायको मूलभूत आवश्यकतामा पर्छ। देशलाई कब्जा–राजनीतिबाट मुक्त गर्दै जनआन्दोलनको मर्म पुनस्र्थापना गर्ने पहिलो कदम उनीमाथिको पदमुक्ति नै हो।
जेन्जी मुभमेन्ट नेपाल स्पष्ट रुपमा घोषणा गर्दछ कि कुशासन अन्त्य हुन्छ, सत्ता कब्जा भत्किन्छ, र नयाँ पुस्ताको बलिदानबाट देश नयाँ युगतर्फ अघि बढ्छ। फेरि पनि सङ्घर्ष गर्न तयार हो।



















