दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल कायम भएको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।

मंसिरको तुलनामा पुसमा १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा घटेको हो । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् ।

त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् । छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

बैंकमंसिरको ब्याजदरपुसको ब्याजदर
कृषि विकास४.९५४.५५
एभरेस्ट४.७५
नेपाल५.२५५.१
लक्ष्मी सनराइज४.७५
माछापुच्छ्रे
एनआईसी एसिया
प्रभु४.९५४.५५
स्टान्डर्ड चार्टड४.७४.६
राष्ट्रिय वाणिज्य५.५
नबिल४.७५४.५५
ग्लोबल आईएमई५.५
सिद्धार्थ
प्राइम कमर्सियल४.७५४.२५
कुमारी४.९१४.५३
सानिमा४.७५
हिमालयन५.५५.५
नेपाल एसबीआई४.८४.५५
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स४.७५४.७५