काठमाडौँ ।जेन्जी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेन्जी समूहहरूको संयुक्त बैठकले संयुक्त जेन्जी आन्दोलनको घोषणा गरेको छ।
२०८२ साल पौष ५ गते ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेन्जी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो।
बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेन्जी अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले आन्दोलनलाई थप प्रभावकारी र संगठित बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गर्दै मिरज ढुंगाना, अजय सोडारी,सुनिल सिंह, विजय शाह, सुरेन्द्र घर्तीलाई त्यसको जिम्मेवारी सुम्पिएको छ। यस्तै, आन्दोलनलाई वैचारिक र रणनीतिक दिशानिर्देश दिन सल्लाहकार रवि किरण हमाल र हरिस भट्ट रहनेछन् ।
बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावना, बलिदान र अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्ष निकालेको छ। सहभागी अभियन्ताहरूले सरकार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र र दमनको बाटोमा उन्मुख भएको आरोप लगाएका छन्। सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक संकट समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकले सार्वजनिक गरेको छ।


















