राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी कुनै पनि हालतमा विधिभन्दा बाहिर नजाने स्पष्ट पारेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीमाथि उठिरहेका आलोचनाको जवाफ दिएका हुन् ।लामिछानेले रास्वपा परिवारवादविरुद्ध स्पष्ट रहेको जिकिर गर्दै पार्टीको विधानले नै त्यस्तो अभ्यास गर्न नदिने बताए। उनले भने, “रास्वपा विधिसँगै छ, विधिभन्दा बाहिर जाने प्रश्न नै हुँदैन। परिवारवादको विषयमा पनि हाम्रो विधान स्पष्ट छ।”
समानुपातिक बन्दसूचीमा परेका केही नामलाई लिएर भइरहेको आलोचनाबारे उनले पछिल्लो राजनीतिक घटनाक्रमका कारण छोटो समयमा निर्णय लिनुपरेको स्वीकार गरे। उनले समयको अभावका कारण देखिएका सम्भावित कमजोरीहरूलाई पुनरावलोकन गरिने पनि बताए। “दुई दिन समय लिएर आएका जायज गुनासो सबै सम्बोधन गर्छौं,” भन्दै उनले पार्टीमा कसैलाई बोकेर हिँड्ने संस्कार नभएको स्पष्ट पारे।
बन्दसूचीमा धनाढ्य र चर्चित व्यक्तिहरू बढी देखिएको प्रश्नमा उनले देशको वर्तमान राजनीतिक अवस्थाले समाजका सबै तहका नागरिकलाई राजनीतितर्फ आकर्षित गरेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार राजनीति दूषित बन्दै गएपछि राजनीतिको बाहिर रहेका सचेत नागरिकहरू पनि परिवर्तनको चाहनासहित सक्रिय हुन थालेका छन्।


















