स्वास्थ्य बीमा कार्यक्रम संकटमा पर्दै गएपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले राजीनामा दिएका छन् । स्वास्थ्य बीमाको भुक्तानी नभएपछि अस्पतालहरूले धमाधम सेवा बीमा सेवा बन्द गरिरहेकै बेला उनको राजीनामा आएको हो ।
काफ्लेले आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन् । ४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही १ माघदेखि महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको सेवा बन्द गरेको छ ।
बीमा बोर्डका अनुसार देशभरका ५१० वटै सेवाप्रदायक अस्पतालहरूलाई साढे १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । स्रोत जुटाउनै नसक्ने स्थिति भएपछि बोर्डले बीमा कार्यक्रमलाई अघि बढाउन विभिन्न विकल्पसहित सरकारसँग सहयोग मागेको थियो ।
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम २०७२ मा सुरु भएको थियो । बीमाका माध्यमबाट सबै नागरिकलाई सस्तो, समान, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा दिने उद्देश्य यस कार्यक्रमको थियो


















