मधेसको छोरो प्रधानमन्त्री बनाउने समय आयो-बालेन्द्र शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अब मधेसले आफ्नो अधिकार माग्न काठमाडौं जानुपर्ने आवश्यकता नरहेको बताएका छन्। सोमबार जनकपुरमा आयोजित कार्यक्रममा उनले मधेसवासीलाई काठमाडौं घुम्न र पशुपति–स्वयम्भू दर्शन गर्न जान आग्रह गरे, तर अधिकार माग्न काठमाडौं नजाने स्पष्ट पारे। “अधिकार अब यही प्रदेशमा उपलब्ध हुनेछ,” उनले भने।

बालेन्द्रले मधेसको ‘छोरो’ अब प्रधानमन्त्री बन्ने दाबी गर्दै सबैलाई ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टी) मा मतदान गर्न आग्रह गरेका छन्। उनले भने, “सही समय र सही सरकार आउँछ।” कार्यक्रममा उनले मधेसका उखु किसानलाई लिएर आफ्नो अनुभव पनि सुनाए। माइतीघरमा उखु किसानहरू आउँदा आफू मेयर भएको कारण केही गर्न नसकेको स्मरण गर्दै अब केन्द्रीय राजनीतिमा गएर किसानहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले थपे, “अब म तपाईंहरूको साथमा छु, किनकि म केन्द्रीय राजनीतिमा आएको छु।”