रास्वपाले तीन आयोग गठन गर्दै संगठनात्मक संरचना पुनर्संयोजन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ। महाधिवेशनपछि पार्टी कार्यालय बनस्थलीमा बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदित विधानअनुसार तीनवटै आयोग गठन गर्ने निर्णय गरेको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई नै पुनः जिम्मेवारी दिइएको छ।

त्यसैगरी, अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनीत गरिएको पनि उनले जानकारी दिए। बैठकमा अन्य पदाधिकारीको मनोनयनबारे भने कुनै छलफल नभएको बताइएको छ। बाँकी पदाधिकारीको चयन पार्टी सभापतिको विशेषाधिकारअनुसार आगामी बैठकमार्फत अघि बढाइने जनाइएको छ।

साथै, बैठकले पहिलो महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबै पदाधिकारी, प्रतिनिधि, सदस्य तथा सुरक्षाकर्मीप्रति धन्यवाद प्रस्ताव पारित गरेको महामन्त्री आचार्यले जानकारी दिएका छन्।