संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राखेको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताए । विसं २०८० फागुन १४ गते औपचारिक रूपमा विमानस्थल उद्घाटन गरिएको थियो । विसं २०७३ माघ २९ मा पहिलोपटक तारा एयरबाट परीक्षण उडान भएको थियो ।
उक्त विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर तथा कालीकोटका प्रतिनिधिको उपस्थितिमा छलफल भएको मन्त्री पौडेलले बताए । छलफलमा तारा एयरले हप्ताको दुई दिन नियमित उडान गर्न सहमति जनाए पनि यात्रुको सुनिश्चितता नहुँदा विमानस्थल सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
“नियमित यात्रुको सुनिश्चितता भएमा उडान सुरु हुन्छ”, मन्त्री पौडेले भने । उनका अनुसार नेपालमा ५५ वटा विमानस्थल छन् । जसमध्ये ३४ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । अधिकांश पहाडी क्षेत्रका विमानस्थल यात्रु अभावका कारण सञ्चालन गर्न सकिएको छैन । बसाइँसराइ, सडक सुविधा सस्तो हुनुलगायत कारणले यात्रु सङ्ख्यामा कमी आएको मन्त्री पौडेलले बताए ।
राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार १:१५ बजे बस्ने छ ।



















