वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न आयल निगमलाई निर्देशन दिएको छ । सोमबार दिउँसो विभागमा भएको छलफलमा महानिर्देशक रोशन ज्ञवालीले बजारमा तत्कालै उपभोक्ताले महसुस गर्ने गरी ग्यास आपूर्ति सहज गर्न सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएका हुन् । सो छलफलमा निगमका प्रबन्धक पछाईले भारतले कोटाअनुसार नै ग्यास दिइरहेको, तर उद्योगीले मागअनुसार पिडिओ उठाउन नसकिरहेको जानकारी गराएकी थिइन् ।
बर्सेनि जाडो मौसममा भारतको बरौनी रिफाइनरी सफाइ हुने हुँदा त्यहाँबाट तुलनात्मक रूपमा थोरै पिडिओ जारी हुने गर्छ ।त्यसैकारण अहिले पनि बजारमा ग्यास आपूर्तिमा केही असजहता देखिएको निगमको भनाइ छ ।


















