उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ मूल नारासहित आइतबार राजधानीमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा शासकीय स्वरूपमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकता दिइएको छ । प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सार्दै सङ्घीय सांसद २७५ बाट २०१ र प्रदेश सांसद ५५० बाट ३३० मा झार्ने तथा मन्त्रालयको सङ्ख्या कटौती गर्ने उल्लेख गरिएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध र सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाइएको छ । साथै, मतदाताका लागि ‘नो भोट’ विकल्प पनि समेटिएको छ ।
आर्थिकतर्फ सन् २०३० सम्म ९ प्रतिशत आर्थिक वृद्धि र वार्षिक ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत हरेक परिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै दिने, विश्वविद्यालय तहसम्म शिक्षा र तोकिएका स्वास्थ्य संस्थामा नि:शुल्क उपचार, तथा ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।


















