जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन्। मंगलबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले संघीयताको रक्षा गर्न जनता समाजवादी पार्टी नेपालले जित्नुपर्ने बताएका हुन्। ‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो,’ यादवले भनेका छन्। उनका अनुसार गोली, दमन र षड्यन्त्रका बीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो।
उनले शहीदहरूको बलिदानबाट स्थापित संघीयतालाई कमजोर बनाउन खोज्नेहरू बढिरहेको आरोप लगाए। ‘शहीदहरूको बलिदानले बनाएको संघीयताको आधार कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ,’ यादवले भने।
अब निर्णय गर्ने जिम्मा जनताकै हातमा रहेको उल्लेख गर्दै उनले अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गर्न आग्रह गरेका छन्। विभाजन र भ्रमभन्दा माथि उठेर अधिकार सुरक्षित गर्ने शक्तिलाई साथ दिनुपर्ने उनको भनाइ छ।



















