नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, काँग्रेस र एमाले कार्यक्रमगत रुपमा उस्तै भएको टिप्पणी गरेका छन् । मंगलवार पार्टीको घोषणापत्र सार्वजानिक गर्ने क्रममा उनले रास्वपा, काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका राजनितिक दलहरुको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताएका हुन् । उनले यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र शैलीमा फरक देखिएपनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको आरोप लगाए ।
उनीहरुबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिष्पर्धा भइरहेको उनले दाबी गरे । पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उनको भनाई छ । उनले जनयुद्ध लडेर आएका पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिवद्धताका बीचमा पनि खास अन्तर नरहेको उनले बताएका छन् ।
उनीहरुको ५ वर्षमा १५० खर्ब रुपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) पु¥याउने वाचा ढाँट्ने प्रतिष्पर्धा मात्रै भएको उनले टिप्पणी गरे । भुसालले वर्तमान राजनीतिक प्रवृत्ति पपुलिजमतर्फ उन्मुख भएको आरोप लगाए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओली ‘पपुलिज्मका सर्वोतम पितामह’ र अन्य दलमा नेताहरु पितामहको संज्ञा दिए । नेकपा (संयुक्त) भने पपुलिष्ट धारभन्दा भिन्न रहेको उनको दाबी छ । उनले नेकपा (संयुक्त)ले राजनीतिमा सधैँ प्रतिपक्षको भुमिकामा रहने उल्लेख गरे ।
उनले निर्वाचनपछि पार्टीको सरकारमा कुनै दाबी नरहेने पनि स्पष्ट पारेका छन् । निर्वाचनका बेला कानूनी र राजनीतिक रूपमा पुनर्गठन गर्न अत्यन्तै कम समय पाएकोले सबै क्षेत्रमा उम्मेद्वारी दिन पनि नसकिएको उनले जानकारी दिए । उनकाअनुसार नेकपा (संयुक्त) ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ । संसदमा जति नै सहभागिता भएपनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उनले बताए ।
उनले निर्वाचनमा राजनीतिक पार्टीहरुले बनाउने घोषणापत्र जनता ढाँट्ने माध्याम मात्रै भएको उल्लेख गरेका छन् । राजनितिक दलहरुले बनाएको घोषणापत्र हालसम्म कार्यन्वयनमा नआएको उनको भनाई छ । उनले नेकपा (संयुक्त)ले तयार पारेको घोषणापत्रको बाटोमा सबै राजनितिक दलहरु नआएसम्म देश समृद्ध हुनु नसक्ने ठोकुवा गरेका छन्।


















