रुकुमको ‘नयाँ सपना’ पूरा गर्न तयार छु : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताएका छन् । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने दाबी गरे । उनले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराए । उनले भने, “केही सपनाहरू हामीले हिजो देख्यौँ । र, ती आज आइपुग्दा एक हदसम्म पूरा भएका छन् । आज फेरि हामीले रुकुमको नयाँ सपना छ हामीसँग, रुकुमको नयाँ सपना छ । त्यो सपनालाई पूरा गर्ने अभिभारा हामी सबैले फेरि एकसाथ भएर अगाडि बढ्नुपर्नेछ ।”

रुकुममै ३०० शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको उनको भनाइ छ । यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पुर्‍याउने उनको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको बताए ।

साथै, युवाको रुचिलाई ध्यानमा राख्दै क्रिकेटलगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । उनले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिए । मतदातासँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’को संज्ञा दिए ।