प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र विजयी सांसदहरूलाई बधाई दिएका हुन । उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न सफलता मिलोस भनेर कामना गरेका छन् ।
गृह जिल्ला रुकुम पश्चिमबाट लगातार चार चुनाव जितेका शर्मा यसपटक आफ्नै पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मासँग पराजित भएका छन् । उनले आजबिहान फेसबुकमा भिडियो पोस्ट गर्दै विजयी उम्मेदवार शर्मालाई पनि बधाई दिएका छन । गरिबी, बेरोजगारी र समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न उनले शर्मालाई सुझाव दिएका छन् । आफू पराजित भए पनि रुकुमेली जनताको विश्वास र मायाप्रति ऋणी भएको भन्दै उनले आफू पदमा हुँदा पनि नहुँदा पनि सेवामा समर्पित हुने बताएका छन् ।


















