अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धको पहिलो छ दिनमै ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च भएको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का अधिकारीहरूले अमेरिकी सांसदहरूलाई क्यापिटल हिलमा दिएको गोप्य ब्रिफिङमा सो खर्चको अनुमान प्रस्तुत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिका र इजरायलले डिसेम्बरको अन्तिम दिन इरानमाथि हमला सुरु गरेका थिए। त्यसयता अमेरिकाले इजरायलसँग मिलेर लगातार संयुक्त आक्रमण गरिरहेको छ ।
ब्रिफिङबारे जानकारी राख्ने अधिकारीहरूका अनुसार वास्तविक खर्च प्रस्तुत गरिएको अनुमानभन्दा अझ धेरै हुन सक्ने बताइएको छ । किनभने प्रारम्भिक विवरणमा सैनिक उपकरण र जनशक्ति तैनाथी, सैन्य तयारीलगायतका धेरै खर्च समावेश गरिएको छैन । रक्षा अधिकारीहरूले यसअघि पनि अमेरिकी संसदका केही बैठकहरूमा युद्धको सुरुवाती दुई दिनमै करिब ५ अर्ब ६० करोड डलर बराबरका हतियार र गोला–बारुद प्रयोग भएको बताएका थिए ।
विश्लेषकहरूका अनुसार युद्धको पहिलो १०० घण्टामै करिब ३ अर्ब ७० करोड डलर खर्च भएको थियो।
प्रारम्भिक आक्रमणमा एजीएम–१५४ ग्लाइड बमजस्ता महँगा हतियार प्रयोग गरिएको थियो, जसको मूल्य प्रति बम करिब ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने बताइएको छ ।
युद्ध खर्च घटाउन अमेरिकी सेनाले तुलनात्मक रूपमा सस्ता हतियार प्रयोग गर्ने योजना बनाएको छ। त्यसअन्तर्गत ‘ज्वाइन्ट डायरेक्ट अट्याक म्युनिसन’को प्रयोग बढाइने बताइएको छ । युद्धको खर्च तीव्र रूपमा बढ्दै जाँदा अमेरिकी संसदमा थप बजेट आवश्यक पर्ने विषयमा बहस सुरु भएको छ । केही अधिकारीहरूलेचाँडै युद्धका लागि करिब ५० अर्ब डलरसम्मको थप बजेट माग्न सक्ने अनुमान गरेका छन्।

















