ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह पूर्ण रूपमा बन्द

इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमणपछि सो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् । तर देशका व्यावसायिक बन्दरगाहहरू भने अझै सञ्चालनमा छन् । आक्रमणमा परेका दुई तेल ट्याङ्कर पर्सियन खाडीमा आगलागीको अवस्थामा भेटिएका थिए । प्रारम्भिक जानकारी अनुसार विस्फोटक बोकेको इरानी पानी– ड्रोनले प्रहार गर्दा दुर्घटना भएको आशङ्का गरिएको छ ।

घटनामा एक जना चालक दल सदस्यको मृत्यु भएको खबर आएको छ । अरू ३८ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । बुधबारयता मात्रै पर्सियन खाडी क्षेत्रमा जहाजमाथि कम्तीमा ६ वटा आक्रमण भएको बताइएको छ । यसले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरुलाई युद्धको मुख्य केन्द्र बनाइरहेको देखिन्छ ।