इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गर्दै होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरू निस्कन नपाए अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट जान नदिने चेतावनी दिएको छ।
शनिबार इरानले होर्मुज स्ट्रेट पुनः बन्द गर्नुका साथै भारतीय जहाजमाथि समेत गोली चलाएको थियो । यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा थप सङ्कट निम्त्याउने संकेत गरेको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको नाकाबन्दीलाई ‘गलत’ भन्दै जुनसुकै बेला परिस्थिति बिग्रन सक्ने र त्यसका लागि इरानी सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्।
उनले होर्मुजमा बारुदी सुरुङ हटाउने काम गरिए त्यसलाई युद्धविरामको उल्लङ्घन मानिने र कडा जवाफ दिइने चेतावनी दिएका छन्।


















