शेखर कोइराला समूहले बदलिँदो राजनीतिक परिस्थितिमा आफ्नो धारणा स्पष्ट गर्दै अब पार्टी एकता र सुदृढीकरणतर्फ केन्द्रित हुने संकेत दिएको छ । विशालनगरस्थित भेलामा नेताहरूले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै अब आन्तरिक विवादभन्दा संगठन मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने निष्कर्ष निकालेका छन् ।
भेलापछि जीवन परियारले विशेष महाधिवेशनबारे फरक-फरक धारणा भए पनि अब अदालतको फैसला आएपछि नयाँ परिस्थिति सिर्जना भएको बताएका छन् । उनले पार्टीले सधैं स्वतन्त्र न्यायपालिकाप्रति विश्वास र सम्मान राख्दै आएको उल्लेख गर्दै अहिलेको अवस्थामा एकता नै प्रमुख आवश्यकता भएको धारणा राखे ।
समूहले पार्टीभित्र सहकार्य र समन्वय आवश्यक रहेको बताए पनि नेतृत्वको भूमिकामा भने बढी जिम्मेवारी पर्ने संकेत गरेको छ । विशेषगरी गगनकुमार थापा को नेतृत्वमा बनेको कार्यसमितिलाई अदालतले आधिकारिकता दिएपछि अब पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व सक्रिय हुनुपर्ने धारणा राखिएको छ । शुक्रबारको फैसलापछि पहिलो पटक बसेको यो भेलाले आन्तरिक मतभेदलाई थाती राख्दै आगामी चुनौती सामना गर्न सबै नेता-कार्यकर्तालाई जिम्मेवार र प्रतिबद्ध बन्न आह्वान गरेको छ ।


















