नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति तथा पूर्व ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सानेपामा सोमबार बसेको समिति बैठकले तामाङलाई तीन दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो। बैठकको अध्यक्षता संयोजक तारामान गुरूङले गरेका थिए। समितिका अनुसार तामाङले पार्टी र नेतृत्वविरुद्ध भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाइएको छ। उक्त अभिव्यक्ति पार्टीको विधान २०१७ (संशोधन सहित) को विभिन्न धारा उल्लङ्घन हुने प्रकृतिको देखिएको समितिको निष्कर्ष छ। सोही आधारमा अनुशासन समितिले तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको हो।
हालै सार्वजनिक भएको एक भिडियोमा तामाङले पार्टी नेतृत्व र आन्तरिक राजनीतिक अवस्थाबारे टिप्पणी गरेको विषयले विवाद सिर्जना गरेको थियो। अनुशासन समितिले उक्त विषयलाई गम्भीर रूपमा लिँदै विधानअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।


















