जेठमा महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयले राप्रपा भित्र ठूलै विवाद ल्यायो नि ?
एउटा गतिशील पार्टीमा साना-तिना वादविवादहरू भइरहेकै हुन्छन् । प्रजातन्त्रको सुन्दर पक्ष पनि हो । एउटा पार्टीमा विभिन्न खाले मान्छे हुन्छन् । सबैका आ-आफ्ना दृष्टिकोण हुन्छन् । सबै विषयमा सबैको समान दृष्टि हुँदैन, जसले गर्दा साना-तिना वादविवाद भइरहन्छन् । तर जति वादविवाद भए पनि राप्रपा फुट्दैन, अन्तिममा एकजुट भएर अगाडि बढ्छौँ । अहिले राप्रपाले लिएको जुन एजेन्डा छ, त्यो सबैभन्दा उत्कृष्ट र बलियो एजेन्डा हो । किनकि हामी राष्ट्रवादी शक्ति हौँ ।
नेपालमा मूलभूत रूपमा तीन थरी विचार बोक्ने शक्ति छन् । एउटा नेपाली कांग्रेस, जसले आफूलाई प्रजातान्त्रिक समाजवादी भन्छन् । अर्कोथरी शक्ति वामपन्थी शक्ति, जसले समानता र भौतिकवादको कुरा गर्छन् । तेस्रो हामी राष्ट्रवादी शक्ति । स्वर्गीय श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहले जतिबेला नेपाल एकीकरण गरिबक्सियो, त्यसबेला पनि हाम्रा पुर्खाले नेपाल एकीकरणको समयमा राजालाई सहयोग गरेका थिए । त्यसपछि राजाहरूले शासन गर्दा पनि हाम्रा पुर्खाहरूले सहयोग गरेका थिए । २५० वर्षको राजतन्त्रको इतिहासमा पनि राजसंस्थालाई सहयोग गर्यौँ । अहिले केही हाम्रा कमजोरी र विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय कारणहरूले गर्दा राजतन्त्र हटाइयो । हामी राजसंस्थाको पुनःस्थापनाको एजेन्डामा छौँ । यो एजेन्डा एकजुट भएर पूरा गर्नेछौँ ।
तपाईंले नेपालमा तीनवटा शक्ति भने पनि चुनावमा त तीनवटै शक्तिको उपस्थिति अत्यन्त कमजोर देखियो नि ? रास्वपाको पक्षमा राम्रो परिणाम आयो ?
हामी राजसंस्था नजिक रहेर काम गरेका राष्ट्रवादी शक्ति हौँ । हाम्रो आफ्नै गौरवशाली इतिहास छ । २०४६ सालमा एउटा ठूलो राजनीतिक परिवर्तन भयो । त्यो परिवर्तन गर्ने आन्दोलनको नेतृत्व कांग्रेस र कम्युनिष्टले गरे । आन्दोलनपछि हामीले राप्रपा गठन गर्यौँ । २०४६ सालमा कांग्रेस र कम्युनिष्टले आन्दोलनको नेतृत्व गरेकोले त्यसपछि भएको चुनावमा उनीहरूले नै जिते । २०६२–०६३ मा ठूलो आन्दोलन भयो । माओवादीले आन्दोलन गरेर गणतन्त्र ल्याए । त्यसपछि भएको चुनावमा उनीहरूले नै जिते । तर २०४६ देखि २०८२ सम्म आउँदा कांग्रेस र कम्युनिष्टले जनताले चाहे जस्तो काम गर्न सकेनन् । राष्ट्रियता कमजोर भयो । देश आर्थिक रूपमा कमजोर भयो । भ्रष्टाचार बढ्यो । सुशासन भएन । जसले गर्दा जनता बक्क भएका थिए, जनताले परिवर्तन खोजेका थिए । त्यो परिवर्तनको संवाहक राप्रपा हुनुपर्छ भन्ने हामीजस्ता मान्छेको मान्यता हो । यही विचारबाट प्रेरित भएर हामीले आन्दोलन पनि गर्यौँ, तर त्यहाँ केही कमी-कमजोरी भए, हाम्रो योजना सफल भएन । हामीले सोचे जस्तो आन्दोलन सफल नभए पनि जनतामा असन्तोष व्यापक थियो । जनताले परिवर्तन चाहेका थिए । हामीले आन्दोलनको नेतृत्व नगरेपछि फरक परिस्थिति आयो, जहाँ युवाहरूले हस्तक्षेप गरे । जसको परिणामस्वरूप २०८२ भदौ २३ र २४ को जेन–जीहरूको आन्दोलन भयो ।
जसरी २०४६ र २०६३ पछि आन्दोलनको कमाण्ड गर्नेहरू जिते, त्यस्तै जेन–जी विद्रोहपछि पनि जेन–जी आन्दोलनको जगमा टेकेर रास्वपा अगाडि आयो भनेपछि तपाईँहरूको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जसरी आन्दोलनको नेतृत्व गर्नुपर्ने, त्यो गर्न सक्न भएन?
कहिले काहीँ आफूले नचिताएको कुरा हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गरेको तीन वर्षमै देशको निर्णायक ठाउँमा आउने भनेको चानचुने कुरा होइन। यो दुई–चार जना युवाहरू बसेर योजना बनाएर हुने कुरा होइन। यसमा ठूला–ठूला अन्तर्राष्ट्रिय खेलहरू हुन्छन्। विदेशीहरूले आफ्नो स्वार्थ पूरा गर्न मान्छे खोजिरहेका हुन्छन्।
जस्तो कि युक्रेनमा जेलेन्स्कीलाई प्रयोग गरे। बङ्गलादेशमा देखियो। नेपालमा पनि उनीहरूले बालेन शाह पनि जेलेन्स्की जसरी अगाडि सारिएका पात्र हुन्?
के कुरा बुझ्नु पर्छ भने जसरी सामाजिक सञ्जाल प्रयोग गरियो अनि नेपालको निर्वाचन जसरी अन्तर्राष्ट्रियकरण भयो अनि रास्वपाको पक्षमा जसरी प्रचार गरियो, त्यो हदसम्मको प्रोपोगान्डा गर्न सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस, बलियो संगठन भएको एमाले र हामी जस्ता पार्टीलाई पनि गाह्रो हुन्थ्यो। किनकि त्यसमा ठूलो लगानी चाहिन्थ्यो, तर रास्वपाले त पैसाको खोला बगाए। यति ठूलो प्रोपोगान्डा, यति ठूलो खर्च र यो जीत दुई–चार जनाको सल्लाहबाट भएको होइन, यसमा धेरै ठूलो अन्तर्राष्ट्रिय खेल छ।
त्यो अन्तर्राष्ट्रिय शक्ति को हो, स्पष्ट पारिदिनुहोस्?
के कुरा बुझ्नु पर्छ भने मतगणना भइरहेको थियो, रास्वपा अगाडि आइरहेको थियो। त्यही बेला अमेरिकी दूतावासले नेपालको समृद्धि र सुरक्षाको विषयमा नेपालसँग बसेर गम्भीर छलफल गर्न चाहन्छौँ भन्यो। चुनावको परिणाम आउनुभन्दा पहिले नै यसो भनेर विज्ञप्ति जारी गर्यो। दलाई लामाले चुनावपछि बधाई दिनुभयो। नेपालको अहिलेसम्मको इतिहासमा कुनै पनि चुनावपछि कुनै पनि प्रधानमन्त्री बन्दा यसरी बधाई दिएका छैनन्। नेपाल सामरिक हिसाबले अत्यन्त महत्वपूर्ण ठाउँ हो। उत्तरतिर भविष्यमा महाशक्ति राष्ट्र बन्ने लाइनमा रहेको विशाल राष्ट्र चीन छ। दक्षिणतिर पनि त्यसरी नै प्रगति गरिरहेको भारत छ। भविष्यमा यी दुवै अमेरिकाका चुनौती हुन्। अमेरिकाले अहिलेदेखि नै यी शक्तिलाई कसरी कमजोर बनाउने भनेर रणनीति बनाउँछ। युक्रेन रस्साकस्सीको ठाउँ हो। युक्रेनमा नाटो सेना आएको भए वा त्यहाँ अमेरिकी वा युएनको सेना बसेको भए रसियालाई गलाउन धेरै सजिलो हुने थियो। सुपरपावरका यस्ता रणनीतिक खेल हुन्छन्, यसमा नेपाली दाजुभाइ प्रयोग भए।
यही बुझेर राजाले चुनाव रोक्नु पर्दछ भन्ने आशय व्यक्त गरेका हुन्?
नेपालका शाह वंशका राजा अत्यन्त दूरदर्शी छन्। जनताको चाहनाअनुसार अगाडि बढ्ने व्यक्ति हुन्। जेनजी आन्दोलनपछि पार्टीले पनि, सेनाले पनि राजालाई आउनुपर्छ भनेकै हो नि। तर राजाले राजनीतिक पार्टी र नेपाली जनताले “आउनुस्” नभनेसम्म आउँदिन भन्ने हुकुम भयो। गलत तरिकाले आउँदिन भन्नुभयो।
राजालाई पुनः आउन सेनाले भनेको?
सेनाले र राजनीतिक दलले भनेका कुरा कमल थापाले सार्वजनिक रूपमा भन्नुभएको छ। उहाँले भन्नुभएको छ— “राजालाई ल्याउनु पर्यो, हामीले चलाउन सकेनौं भनेर ठूला दलका शीर्ष नेताले भने।” तर महाराजाधिराजले सबैको सहमति नभई आउँदिन भन्नुभयो।
राजा कहिले आउने त?
के जेनजी आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्न मात्र भएको हो? त्यति धेरै युवाहरूको सहादत, त्यत्रो राष्ट्रिय सम्पत्तिको विनाश— संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाइएको— २०८४ को चुनाव २०८२ मा सार्न मात्र भएको हो? यो सबै हेरेपछि महाराजाधिराजले सबै पक्षलाई समेटेर अगाडि बढ्न भन्नुभएको हो। राजाले नेपाल समृद्ध र राष्ट्रियता बलियो भएको हेर्न चाहनुहुन्छ। त्यसैले सबै मिलेर चुनावमा जाऔं, नत्र दिगो शान्ति हुँदैन भन्नुभएको थियो। सामान्यतया सय दिनसम्म ‘हनिमुन पिरियड’ भनिन्छ, तर यहाँ त विरोध सुरु भइसकेको छ। त्यसैले म भन्छु, भदौ २३ र २४ भन्दा अझ डरलाग्दो परिस्थिति आउन सक्छ।
भनेपछि शान्ति अझै हुँदैन?
यहाँ कुनै पनि आन्दोलन वारपार भएको छैन। २००७, २०४६, २०६३— सम्झौतामै टुंगिएका छन्। जेनजी आन्दोलनले पनि संविधान आधा च्यात्यो, पूरा फालेन। सहमतिमै टुंगियो। क्रान्ति भएपछि एउटा पक्ष पूर्ण रूपमा सकिन्छ, तर नेपालमा त्यस्तो भएको छैन। त्यसैले यहाँ दस–दस वर्षमा आन्दोलन हुन्छ। नेपालमा अपूर्ण क्रान्ति छ, त्यसैले अब पुनः क्रान्ति हुन्छ। नेपाली जनता घरघरबाट निस्किएर राजालाई बोकेर नारायणहिटीमा राख्छन्।
संविधान संशोधनको चर्चा छ, बालेन शाहले संविधान संशोधन गरेर राजसंस्था पुनर्स्थापना गर्न सक्छन्?
बालेनलाई करप्ट भनेर हामीले भन्न सक्दैनौं। नयाँ र फ्रेस मान्छे हुन्, धेरै भाग्यमानी पनि छन्। यदि उहाँ साँच्चै नेपाल आमाको छोरो हुनुहुन्छ र नेपाललाई माया गर्नुहुन्छ भने, अहिले उहाँसँग करिब दुई तिहाइ छ। पाँच सिट हाम्रो छ, हामीले समर्थन गरिहाल्छौं। उहाँले दुई तिहाइ पुर्याएर संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको घोषणा गर्नुभयो भने, उहाँ नेपालको इतिहासमा सधैं स्मरणीय महान नेताका रूपमा स्थापित हुनुहुनेछ। त्यसका लागि उहाँले साहस गर्नु पर्दछ।
उहाँलाई आएको मत त यही व्यवस्था मान्छु भनेर आएको हो नि ?
यो व्यवस्था मान्छु भनेर होइन, त्यो त कांग्रेस, एमाले, माओवादीले भनेकै थिए नि। उनीहरूलाई मत आएको खै ? जनतामा चरम असन्तुष्टि थियो, त्यो मत आयो। जतिबेला हामीले आन्दोलन गर्यौं, अरू आठ-दश दिन गरेको भए जनता सडकमा आउने थिए। भाद्र २३ र २४ गते जेएनजीले गर्दा जति मान्छे आए, त्योभन्दा पनि बढी आउने थिए। त्यसबेला तरीका नपुर्याएकै हो।
यही कुरो पार्टीका बैठकमा किन भन्नु हुन्न ? असक्षम नेतृत्वले छाड वा महाधिवेशन गर पनि भन्नु भएन ?
हरेक पार्टीको आफ्नै विधान हुन्छ। विधानसम्मत तरीकाले अगाडि बढ्छौं। पार्टीको विवाद पार्टीभित्रै छलफल गर्छौं, बाहिर ल्याएर उत्ताउलो पाराले छलफल गर्नु जरुरी छैन। पार्टीभित्र गम्भीर बहस चलेको छ, निकट भविष्यमा महाधिवेशन हुन्छ।
धवल शमशेरले त राजेन्द्र लिङ्देनले नेतृत्व गर्न सक्नु भएन भनेर बाहिरै भनिसक्नु भयो नि ?
राप्रपाको वैचारिक धरातल अहिले कमजोर भएको छ। राप्रपा कुन उद्देश्यको लागि जन्मिएको थियो ? २०४६ सालको आन्दोलन हामीले स्वीकार्यौं, तर विदेशीको जसरी हस्तक्षेप भयो, जुन प्रक्रियाबाट बहुदल आयो, त्यो देखेपछि मुलुकमा राष्ट्रवादी, प्रजातन्त्रवादी पार्टीको खाँचो छ भनेर यो पार्टी स्थापना गरेका हौं। त्यो बेला प्रतिकूल अवस्था थियो, तर साहस गरेर पार्टी खोलियो, त्यो मुलुकको राष्ट्रियता बलियो बनाउन थियो। राष्ट्रियताको प्रतीक राजा हो, त्यसैले शाहवंशीय राजालाई संवैधानिक राजाको रूपमा राख्नु पर्दछ। नेपालमै प्रतिपादित भएको हिन्दु धर्म राख्नु पर्दछ भन्ने हो।
हिन्दु दर्शन नेपालकै मूलमा प्रतिपादित भएको दर्शन हो। यो नै अन्य दर्शनहरूको प्रेरणाको स्रोत हो। यो नेपालबाट भारतवर्ष हुँदै विश्वव्यापी रूपमा फैलिएको हो। राजसंस्था र हिन्दु धर्म नेपालको राष्ट्रिय पहिचान हो, यसको नेपाली माटोसँग अत्यन्तै गहिरो सम्बन्ध छ। यी दुईवटा शक्ति नहुने हो भने हाम्रो मुलुकको स्वाधीनता समाप्त हुन्छ भन्ने हाम्रो त्यो मान्यता हो। तर अहिलेका नयाँ युवाहरू, जो कुनै विचारबाट अभिप्रेरित छैनन्, आलाकाँचा छन्। उनीहरूले भनेको—अब राजाको नाममा भोट आउँदैन, अब हिन्दुको नामबाट भोट आउँदैन, अब हामीले एजेन्डा विचार गर्नुपर्छ—भनेर यो नबुझेर भनेका हुन्।
राजाले हामीलाई सहयोग नगरेपछि हामीले किन गर्ने? भनेर भन्छन्। के राजा र हिन्दू भन्ने कुरो व्यापारको वस्तु हो र ? यस्तो गर्नु हुन्न। यस्तालाई हामीले महाधिवेशनमा निषेध गर्छौं।
सरकारका प्रारम्भिक कामहरूको कसरी मूल्याङ्कन गर्नुहुन्छ?
नेपालीमा धेरै ठूलो असन्तुष्टि थियो, त्यो विस्फोट भयो। त्यसको जगमा टेकेर भनौँ वा त्यसबाट फाइदा लिएर रास्वपा अगाडि आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै दर्शन, राजनीतिक भिजन र कुनै इतिहास छैन। त्यहाँ भएका धेरैजना व्यक्तिहरू कांग्रेस, एमाले, राप्रपामा ठाउँ नपाएका वा पार्टीबाट निकालिएका मान्छे छन्। चुनावमा एउटा लहर जस्तो आयो।
बालेन शाहलाई अहिलेसम्म कतै पनि दोष दिने ठाउँ छैन। सबैभन्दा ठूलो कुरा, उनले भ्रष्टाचार गरे भन्ने कतै छैन। स्वर्णिम वाग्ले नेपालकै एउटा विज्ञ अर्थशास्त्री हुन्। उनी अर्थमन्त्री छन्। भारतमा क्रान्ति सफल भएपछि—नेहरू, लालबहादुर शास्त्री, इन्दिरा गान्धी—धेरैजना प्रधानमन्त्री भए, तर भारतको आर्थिक स्थिति एकदम बिग्रेर गयो।तर जब नरसिंह रावजी आउनुभयो, उहाँ अर्थशास्त्री हुनुहुन्थ्यो। त्यसपछि मनमोहन सिंह आउनुभयो। मनमोहन सिंहले अर्थसम्बन्धी पढ्नुभएको थियो, उहाँ अर्थ सचिव हुनुभएको थियो, त्यसपछि अर्थमन्त्री हुनुभयो। उहाँलाई विश्वको अर्थतन्त्रको स्थिति के छ भन्ने थाहा थियो। उहाँसँग भिजन थियो, जसले गर्दा भारतको अर्थतन्त्र माथि उठ्यो।
चीनमा पनि माओत्सेतुङले ठूलो क्रान्ति गरे, तर त्यहाँ गरिबी नै थियो। देङ सियाओपिङ आइसकेपछि उनले ठूलो आर्थिक सुधार गरे। स्वर्णिम वाग्लेको ब्याकग्राउन्ड हेर्दाखेरि काबिल अर्थशास्त्री जस्तो देखिन्छ, उनले केही गर्छन् कि भन्ने मान्छेले आशा गरिरहेका छन्। बालेनले पनि अहिले मेहनत गरिरहेकै छन्। रवि त सरकारमा छैनन्। उनमा पनि सङ्गठन गर्न सक्ने क्षमता देखियो। जसरी चुनावमा उम्मेदवार छाने, । पढेलेखेका, केही गरौँ भन्ने भावना भएका मान्छेलाई छानीछानी उम्मेदवार बनाए।
यति हुँदा–हुँदै पनि यिनीहरूसँग अनुभव छैन। सिपाहीबाट एकैचोटि आईजी बने भने त अनुभव नै हुँदैन नि। कर्मचारी प्रशासन उही हो, सबैलाई मिलाएर लैजानु पर्ने हुन्छ। आउनेबित्तिकै के–के नै काम देखाउँछु भनेर मान्छे समात्न थाले, ती सबै यिनीहरूका विरोधी भइहाले। समात्दाखेरि पनि कुनै प्रक्रिया पूरा गरेर समात्नुपर्यो, नेपालको संविधान र कानुनमा टेकेर गर्नुपर्यो। रिस उठेका मान्छेलाई झ्याप्प झ्याप्प समातिदिए यिनीहरूले। त्यो गर्दा यिनीहरूलाई पनि अलिकति मान्छेले शङ्काको दृष्टिकोणले हेर्न थालेका छन्।
जबकि १०० दिनसम्म मान्छे बोल्दैनन्, तर यहाँ सरकार बनेको भोलिपल्टदेखि नै विरोध सुरु भयो। त्यसकारणले यो सरकारको लागि पनि त्यति सहज छैन। नियत यिनीहरूको खराब नहोला, केही गरौँ भन्ने जोस–जाँगर, भावना होला, तर त्यसका लागि त ज्ञान र अनुभव हुनु पर्दछ।
अन्त्यमा…?
अन्त्यमा म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्रपूर्वक आग्रह गर्न चाहन्छु—विगतमा हामीले धेरै गल्ती गरेका छौँ। हाम्रो दुःखका दिन सुरु हुन लागेका छन्। जसरी २३–२४ को आन्दोलन भयो, त्यो आन्दोलन गराउनुको जुन उद्देश्य थियो, त्यो उद्देश्य परिपूर्ति गर्ने खालको सरकार बन्यो। साथसाथै हाम्रो मुलुकको सार्वभौमिकताको पनि अब चाहिँ नेपाल रहने हो कि नरहने हो भन्ने परिस्थिति आउँदै छ। अहिले त्यो दिशातर्फ मुलुक अग्रसर भइरहेको छ।
सबै सचेत रहनुहोला। देश जोगाउनका लागि हामी सबै मिलेर राजालाई अनुनय–विनय गरेर, हामीले बोकेर ल्याएर नारायणहिटीमा राख्नुपर्छ। अनि बल्ल नेपाल जोगिन्छ। नभए हामीले भोलिको इतिहासमा कुनै समयमा नेपाल भन्ने राष्ट्र पनि थियो भन्ने पढ्नुपर्ने हुन्छ। यसमा चाहिँ अलिकति गम्भीर भएर ध्यान पुर्याइदिनुहोला भन्ने म अनुरोध गर्दछु।


















