विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रता अवस्था वार्षिक प्रतिवेदन सार्वजनिक गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अङ्ग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने बताए। महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राखे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै अवरोध वा अड्चन आइलागे आफूहरूले कानुनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए ।


















