नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा अर्थ्याएका छन्।
उनले स्वतन्त्र र निर्भय प्रेस लोकतन्त्रको प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी झन् चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। थापाले कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीहरूको प्रशंसा गर्दै उनीहरूलाई सम्मान व्यक्त गरेका छन्।


















