नक्कली सुकुमबासीको पहिचान गरेर कारबाही गर्न हर्क साम्पाङको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् । सोमबार थापाथलीस्थित सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर साम्पाङले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सकुमबासीलाई समस्या भएको भन्दै नक्कली सुकुम्वासीलाई कारबाही गर्न माग गरेका हुन् ।

सुकुमबासी बनेर सरकारी जग्गा भाडामा लगाउनेलाई कारबाही र वास्तविक पीडितलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले बस्ती भत्काउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा, पहिचान नगरी एक्कासि डोजर लगाउँदा वास्तविक पीडित थप समस्यामा परेको धारणा राखे । गरिब जनतालाई विस्थापित गर्ने काम सरकारले गर्न नहुने भन्दै उनले उनीहरूलाई सहज जीवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले नागरिकको अधिकारलाई ख्याल राख्दै आगामी दिनमा उचित कदम चाल्न सरकारलाई सुझाव समेत दिए ।