भोला श्रेष्ठलाई ‘नेपालमा पुस्तकालय’ भित्र पढ्दै गर्दा

झण्डै पांच दशक देखी पुस्तकालय विधामा रुची राखेर लुखुर लुखुर गरिरहेको यस बबुरोले श्री भोलाकुमार श्रेष्ठको दोश्रो पुस्तक ‘नेपालमा पुस्तकालय’ हातपारेको पनि दुईसाता नाघिसकेको छ। पुस्तकालय क्षेत्रले पठन पाठनमा आफैंलाई पारेको प्रभाव कम्तिलो त छैन, तर पनि उमेरले वा अल्छ्याईं केले हो, केही समय त कलम सार्न हातै बढेन। के भन्ने खै !

किताबमा वरिष्ठ प्राध्यापक डा.ध्रुव घिमिरेले ‘कृतिप्रति: विहङ्गम दृष्टि’नै लगाइ दिएपछि, पुस्तकालय विधाका जाज्वल्यवान व्यक्ति डा. लीला न्याइच्याईले ‘ऐतिहासिक विवरणका दर्पण: पुस्तकालयमा भोला श्रेष्ठको अर्पण’ तथा केसर पुस्तकालयका पमुख एवं पुस्तकालय जगतका युवा प्रखर व्यक्ति यादवचन्द्र निरौलाका ‘हार्दिक शुभेक्षा’ किताबमा पढिसकेपछि त झन के लेख्ने होला र खै भनेर अलमल पनि परेकै हो।

श्री भोला र म एकवर्ष फरक भए पनि मैशूरमै पढेका, मानसगंगोत्रीको सडकमा गोधुली पछिको सांझमा सररर हावामा हिंड्दा फुलेका रुखबाट झरेका फूलवर्षामा रमाएका, वा त्यहांको सांस्कृतिक कार्यक्रममा नेपाल चिनाएका अथवा नेपाली रमाइलानै थिए भनेर सम्झना गराएका कारणले वा एक भेटमै आपसी गठबन्धन गर्नसक्ने मिठास भएका जे जुन कारणले हुन् २०३५ देखि जुवामा दायां र बायां नारिएर खेत बारीमा जोतिएझैं पुस्तकालयको क्षेत्रमा भातृत्वको बन्धनमा मज्जाले गुजुल्टिएछौं, जसको कारणले आजपर्यन्त धेरै निकायहरूमा संगै छौं।

भएन हो गांठे, ४८ वर्ष देखिको मित्रतामा जोडिएको साथीको किताबलाई यसरी हेलां त गर्नु भएन भन्दै: मनलेनै आत्मालाई चसक्क हुने गरी घोच्यो। तब यसका पृष्ट पृष्टमा आंखाहरू दौडिनै पर्‍यो। किताबले प्रारम्भिक देखिको विश्वजगतको पुस्तकालयको कथा बोल्छ। नेपालको पुस्तकालय इतिहास त खण्ड खण्डमा उल्लेख छ: पौराणिकमा गोपाल/किरांत कालखण्ड देखि लिएर लिच्छवि, मल्ल, शाह र राणा समय सम्म; २००७ देखि २०१७ सम्म; २०४६ सम्म र २०४६ पछिका राजनैतिक परिवर्तन संगसंगैका पुस्तकालयको गति अथवा अधोगति (पुस्तकालय पर्व वा हालसम्म पुस्तकालय ऐन सम्म नबन्नु)सबै खोजेर यसमा छर्लङ्ग पारिएका छन्। इतिहास संस्कृति विधाका पनि स्नातकोत्तर उपाधी प्राप्त श्री श्रेष्ठबाट निकै सोधखोज, अनुसन्धान गरिएर तयार भएको गठीलो पठन सामाग्रीहरू यसमा समाहित छन्।

यस किताबमा के छैन भनेर खोज्नु पर्ने हुन्छ। पुस्तकालयका स्थिति विवरण र नियम पद्धतिहरू त संक्षेपमा हुने नै भए; नेपालमा पुस्तकालय विकासमा लागेका अग्रणी व्यक्तित्वहरू: भूपतिन्द्र मल्ल, पृथ्वीनारायण शाह, गीर्वाणयुद्ध वीरविक्रम शाह, जङ्गबहादुर राणा, वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, केसरशमशेर, पं. हेमराज पाण्डे, कमलमणि दीक्षित, डा. डिल्लीरमण रेग्मी, प्रेमबहादुर कंशाकार, रामदेव भटृराई, गोविन्द वियोगी, सूर्यनारायण श्रेष्ठ, पूर्णप्रसाद अमात्य, शान्ति मिश्र, डा. नारायण खडका, भोलानाथ शर्मा, शशी पन्थी, प्रेमप्रकाश फलहारी, डा. एन्टोनिया न्यूवर, जोन उड, नरेश कोइराला, पूर्णबहादुर गुरुङ, आत्माकृष्ण श्रेष्ठ एवं सजीव श्रेष्ठले खोलेका हुन् वा आफ्ना पुस्तकालय सहित भवन परिसर सर्वसाधारणले उपयोग गर्नपाउन् भनि सरकारलाई जिम्मा दिएका अथवा अद्वीतीय काम गरेका पुस्तकालयहरूका नालिबेलीहरू छन्; हालका पुस्तकालय अभियन्ताका फेहरिस्त छन्; पुस्तकालय विधामा हालसम्म नेपालमा देश, विदेशका सम्मानित भएका व्यक्तिहरूका विवरण छन्; पुस्तकालयको ऐन त बनेकै छैन तर भएका शिक्षा आयोग, नेपालको योजनाहरू, शिक्षा ऐन, शिक्षा नीति, पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति ०६४, पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका ०६९ आदि सबै खोजेर पुस्तकालयबारेमा भएका बन्दोबस्तीहरू यहां सर्लक्क राखिएका छन्।

वर्तमानकै कुरा गर्ने हो भने, नेपालको संविधान २०७२ एवं स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको पुस्तकालय सम्बन्धी अंशहरू सरक्क यसमा रहेका छन्। त्यति मात्र हैन: राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरुयोजना, पुस्तकालय स्वचालीकरण जस्ता विधाहरूमा समितिले काम गरेर पेश गरेको तर वर्षौं देखि मन्त्रीपरिषद्मा पारित नभई अडकिरहेको अर्थात् काम भएका फल निक्लन बांकी कुराहरू पनि यसमा लेखिएका छन्। पुस्तकालय सम्बन्धमा नेपालीले लेखेका किताबहरू तथा अन्य पुस्तकालय सम्बद्ध संस्थाहरूले प्रकाशन गरेका सामाग्रीहरूको संक्षिप्त जानकारी पनि यस ‘नेपालमा पुस्तकालय’मा पढन पाइन्छ।
रामेछाप जिल्लाको एउटा कुना, चिसापानी भन्ने स्थानमा २०१० मा हुनुपर्छ, जन्मेको एउटा केटोले मैशूर विश्वविद्यालय तथा दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विधामा स्नातक एवं स्नातकोत्तरको उच्च अध्ययन गर्नु; नेपालका सबै ठूला पुस्तकालयहरू: त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय तथा सरस्वती बहुमुखी क्याम्पसमा काम गर्नु, नेपाल राष्ट्रिय पुस्तकालय, केसर पुस्तकालय तथा डिल्लीरमण पुस्तकालयको नेतृत्व गर्नु; रुम टू रिड, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, रिड नेपाल, आदि संस्थाहरूमा स्थापना काल देखि सघाउनु/नेतृत्व गर्नु; पुस्तकालय व्यवस्थापन विधाका तालिममा देशैभर दौडाहा गर्नु; नेपाल पुस्तकालय सङ्घ स्थापना काल २०३५ देखि लागिपरेर कार्यसमितिका विभिन्न पदमा रही २०५९ देखि ६६ सम्म दुई कार्यकाल अध्यक्षता गर्दै दुई पटक दुई युवराजाधिराजहरूको समुपस्थितिमा राष्ट्रिय एवं अन्तराष्ट्रिय सम्मेलनहरू समेत् सञ्चालन गरेर सङ्घलाई एउटा उच्च विन्दुमा पुर्‍याएको श्रेय श्री श्रेष्ठलाई जान्छ।
नाच्न, गाउन, हंस्सिमजाक गर्न र क्षणभरमै साथी बनाउन माहिर रमाइला व्यक्ति भोला श्रेष्ठ पुस्तकालय भनेपछि कहिल्यै नथाक्ने, हरतरहले सघाउन प्रयत्नरत हुने, सक्दिन/गर्दिन/जान्दिन कहिल्यै नभन्ने र हुरुक्क भई प्रयास गरिहाल्ने नेपालको एउटा जड व्यक्तिनै हुन्।

ियिनै माथिका भगिरथ कृयाकलापले होला, कार्यक्षेत्रमा उल्लेख्य योगदान गरेकाले होला, विश्वका १५ देशका भ्रमणमा गई ठूला पुस्तकालयहरू अवलोकन गर्दै तिनबाट थप ज्ञान आर्जन गरेकाले होला, नेपालमा सुचारु रहेका प्राय सबै पुस्तकालयहरूको अवलोकन गरिभ्याएकाले होला, एक विद्यालय एक पुस्तकालय तथा एक गांउ एक पुस्तकालयको धारणा उजागर गरेकाले होला, बांकी जीवन पुस्तकालय क्षेत्रमै व्यथित गर्छु भन्ने उनको दृढताले होला, महाकवी देवकोटाको ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको वेश आनन्दी मनले’ भन्ने बाक्यहरूलाई जीवन जिउने आदर्श बनाएकोले होला, अन्तिम अवस्थामा पनि मेरो मुखबाट पुस्तकालय शब्दनै निस्क्योस् भन्ने भित्री भावना उजागर गर्ने गरेकोले होला, … श्री श्रेष्ठलाई नेपालका पुस्तकालयका पिता भन्न थालिएको छ। तसर्थ, पुस्तकालय प्रेमी सबैले यो किताब अवश्यै पढनु हुन सआग्रह अनुरोध छ।

मित्र श्रेष्ठको लेखहरू त तिसको दशक देखि पढीआएकै हो। उनको २०७९ मा प्रकाशित पुस्तकालयसंगको जीवन यात्रामा आफ्ना घर परिवेश, पारिवारिक कुराहरू समेत् थियो भने तीन वर्षको अन्तराल अर्थात् २०८२मा प्रकाशन भएको यस ‘नेपालमा पुस्तकालय’ किताब भने केवल पुस्तकालय र नेपालमा यसको स्थिति बारेमा मात्र भएकोले नेपालका पुस्तकालयहरूमा मात्र हैन नेपाल भाषी रहेका जुनसुकै देशका पुस्तकालयहरूमा यो किताब केही प्रति रहनु पर्छ भन्ने विश्वास राखेको छु। निज यत्तिकै उर्वर, प्रखर तथा सक्रिय रही निजबाट थोरै समयको अन्तरालमा नेपाली पुस्तकालय जगतका अनगीनत यस्ता पुस्तकहरू एवं लेखहरू आइरहोस् भन्दै श्री श्रेष्ठको सुस्वास्थ्य तथा सतायु जीवनको लागि श्री पशुपतिनाथसंग प्रार्थना गर्दछु।