मदन–आश्रित स्मृति दिवसमा जनपक्षको एमाले नेतृत्वमाथि तीव्र आलोचना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै वर्तमान एमाले नेतृत्वविरुद्ध कडा राजनीतिक टिप्पणी गरेको छ।

पार्टीका प्रवक्ता दिनेश बर्तोला द्वारा जारी वक्तव्यमा नेकपा एमाले अहिले “विघटन र विसर्जनको संघारमा” पुगेको दाबी गरिएको छ। विज्ञप्तिमा एमाले अध्यक्ष के पी शर्मा ओली सहित नेतृत्वपंक्तिले राष्ट्रघाती, जनविरोधी तथा भ्रष्ट नीति अपनाएको आरोप लगाइएको छ। जनपक्षले एमाले नेतृत्वले श्रमजीवी वर्गको हितभन्दा दलाल तथा नोकरशाही पुँजीपति वर्गको सेवा र संरक्षणमा ध्यान दिएको आरोप लगाउँदै यही कारण पार्टी कमजोर बन्दै गएको उल्लेख गरेको छ।

वक्तव्यमा कम्युनिस्ट आन्दोलन, जनवादी आन्दोलन तथा देशभक्तिपूर्ण आन्दोलनलाई एमाले नेतृत्वको वैचारिक विचलनले क्षति पुर्याएको दाबी गरिएको छ। साथै, एमालेभित्र रहेका “इमान्दार नेता तथा कार्यकर्ता”लाई वर्तमान नेतृत्वविरुद्ध विद्रोह गर्दै कम्युनिस्ट आन्दोलनको नयाँ ढंगले पुनर्गठन गर्न अपिल गरिएको छ।
जनपक्षले स्वर्गीय मदन भण्डारी लाई देशभक्त तथा जनप्रिय नेताका रूपमा स्मरण गर्दै उहाँका केही वैचारिक सीमाहरू पनि रहेको टिप्पणी गरेको छ। पार्टीले विशेषगरी सोभियत संघ, चीन र माओवाद सम्बन्धी विश्लेषणमा मदन भण्डारीको दृष्टिकोणप्रति असहमति जनाएको छ।

विज्ञप्तिमा वर्तमान एमाले नेतृत्वले मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” समेत परित्याग गरेको आरोप लगाइएको छ। जनपक्षले लोकतान्त्रिक, देशभक्तिपूर्ण तथा कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। पार्टीले “विश्वका श्रमिक तथा उत्पीडित जनसमुदाय एक होऔं” र “माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद” भन्ने नारासहित आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।